बजारमा ‘जोर बन्दुकको छाया’

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १५ : २४
बजारमा ‘जोर बन्दुकको छाया’

काठमाडौँ । माओवादी द्वन्द्वकालको बारेमा लेखिएको पुस्तक ‘जोर बन्दुकको छाया’ प्रकाशित भएको छ । सांग्रिला बुक्सले पुस्तकलाई बजारमा ल्याएको हो ।

हाल बेलायतमा बस्ने पूर्वसंचारकर्मी श्रीभक्त खनालद्वारा लिखित संस्मरणात्मक पुस्तकले विगतमा भएका द्वन्द्व र त्यसका कहालीलाग्दो परिणामका बारेमा छर्लङ्ग पारेको सांग्रिला बुक्सले जनाएको छ । 

‘औपचारिक रुपमा द्वन्द्व  सकिएको १४ बर्ष बितिसक्दा पनि द्वन्द्वपीडितले पाउन नसकेको न्याय र त्यसपछि पनि भोग्न परेको भुक्तमानको फेहरिस्त  हो यो पुस्तक’ सांग्रिला बुक्सका मणि शर्मा भन्छन्, ‘लमजुङ दुराडाडाँबाट शुरु भएको यो पुस्तकको अध्याय बेलायतको फौजदारी अदालतसम्म पुगेर टुङ्गिएको छ ।’ 

शर्माका अनुसार सृजनशील लेखन र खोज पत्रकारिताको समिश्रणले यो पुस्तक पठनीय त छ नै, द्वन्द्वका समयमा राज्य पक्ष र बिद्रोही पक्षले लुकाउन खोजेका कुराहरुलाई समेत उजागर गरेर लेखकले  सत्यतथ्य आमपाठकसम्म ल्याउने जमर्को गरेका छन् । सत्य निरूपणको नसुल्झिएका पाटा र त्यस्का कारण र हुन सक्ने दुस्परिणामका बारेमा बुझ्न समेत यो पुस्तक उपयोगी हुने शर्मा बताउँछन् ।

यसअघि लेखक खनालको तिब्बती शरणार्थीको बारेमा लेखिएको  गैरआख्यान पुस्तक ‘अफ्ट्यारो बाटो’ सांग्रिला बुक्सबाट नै प्रकाशित भएको छ । त्यो पुस्तकको तेस्रो संस्करण र अङ्ग्रेजी संकरण पनि भर्खरै बजारमा आएको छ ।

प्रतिक्रिया दिनुहोस