मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको निर्णयप्रती नेपाली काँग्रेसको विरोध

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, १९ : ३१
मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको निर्णयप्रती नेपाली काँग्रेसको विरोध

काठमाडौं । नेपाली काँग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णयको विरोध गरेको छ । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो निर्णय त्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील विषयमा निर्णयमा पुग्न सरकारलाई आग्रह गरेका छन् । ‘कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र उबाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व हो ।

तर यो अवधिमा कयौंले जीवित छँदै आफ्नो स्थिति बारे पूर्वसूचना पाएनन्, मृत्यु पश्चात् मात्रै कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए । मृत्यु पछि मात्रै पीसीआर ? भनेर भएका आलोचना अन्त्य गर्न सरकारको पछिल्लो निर्णयले एक हदसम्म सघाउला तर जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायको खोजिमा होइन कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा आफूभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ’, उनको भनाइ छ । 

शंकास्पद मृत्युमा कोरोना परीक्षण नगर्ने निर्णय गरिरहँदा त्यससँग गाँसिएका गम्भीर सैद्धान्तिक र व्यवहारिक प्रश्न नजरअन्दाज नगर्न उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस