प्रकाशकीय : आजदेखि सफल खबर अनलाइन टेलिभिजन सुरु

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, ०५ : ३७

आजको युग सञ्चारको युग हो । जनता सत्य, तथ्य र निष्पक्ष समाचार चाहन्छन् । यही जनचाहनालाई आत्मसात गर्दै हामीले आजभन्दा करिब चार वर्षअघि भिजन मिडिया नेटवर्कमार्फत् सफल खबर डट कम अनलाइन न्यूज पोर्टल सुरु गरेका हौँ । आजदेखि हामीले सफल खबर अनलाइन टेलिभिजन पनि सुरु गरेका छौँ । समाजमा सही सूचना, समाचार र स्वस्थ्य मनोरञ्जन दिने काममा सफल खबर अनलाइन टेलिभिजन सधैँ अगाडि बढ्नेछ ।

बदलिँदो समाजसँगै नयाँ प्रविधिलाई आत्मसात गर्दै हामीले अनलाइन टेलिभिजनको प्रसारण सुरु गरेका हौँ । जनताको सूचनाको हकको सम्मान गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार एवं विविध सामग्री पस्कने हाम्रो उद्देश्य रहेको छ । आवाजविहीनको आवाज बन्ने हाम्रो यस पाइलामा विगतमा जस्तै अब पनि विज्ञापनदाता र शुभेच्छुकहरुको सहयोगको अपेक्षा गरेका छौँ । सफल खबर अनलाइन टेलिभिजनको सुरुवातसँगै हामीले सफल खबर डट कममा पनि भिडियो सामग्रीलाई प्राथमिकतामा राखेका छौँ । यसले पाठक र दर्शकलाई थप सजिलो बनाउने हामीले विश्वास लिएका छौँ ।

सञ्चारमाध्यमहरुको भीडमा सफल खबर अनलाइन टेलिभिजनलाई पृथक पहिचानसँगै लोकप्रिय बनाउन हामी प्रतिबद्ध छौँ । समाजमा सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रबाट गर्न सकिने योगदानको लागि हामी कहिल्यै पछाडि हट्ने छैनौँ । समृद्ध नेपाल निर्माणमा हातेमालो गर्न हामी सधैँ तत्पर छौँ । 

चौथो वर्ष प्रवेशको सङ्घारमा उभिएको सफल खबर डट कमको सफलतासँगै हामीले सफल खबर अनलाइन टेलिभिजनको सुरुवात गरेका हौँ । खुसीको यस क्षणमा हामी समस्त शुभचिन्तक, विज्ञापनदाता एवं सफल खबर टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । आगामी दिनमा पनि पाठक, दर्शक एवं शुभचिन्तकहरुको सल्लाह, सुझाव र मार्गनिर्देशन अनुसार अगाडि बढ्ने प्रण गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस