मलेसियामा एकजना नेपालीलाई मृत्युदण्डको फैसला

पत्रपत्रिकाबाट

मंगलबार, २३ भदौ २०७७, ०८ : ०६
मलेसियामा एकजना नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौं । मलेसियाको उच्च अदालतले मलेसियन नागरिकको हत्यामा दोषी ठहर गर्दै धनुषाको गोविन्दपुरका ३६ वर्षीय सुरजदेव साह तेलीलाई मृत्युदण्ड दिने फैसला गरेको छ । 

तेलीले मलेसियाको कम्पुङस्थित मुतियार बाटु–१० का ३४ वर्षीय आर हारिधासलाई घरमै हत्या गरेको ठहर गर्दै अदालतले अगस्ट १७ मा मृत्युदण्डको फैसला गरेको हो । नेपाली दूतावासले तेलीको जीवनरक्षाका लागि पुत्राजयस्थित पुनरावेदन अदालतमा पुनरावेदन गरिसकेको छ । हारिधासको २०१६ डिसेम्बर २ मा हत्या भएको थियो ।

लरी ट्रकका ड्राइभर रहेका तेली हारिधासकी श्रीमतीका प्रेमी थिए । प्रहरीले श्रीमतीलाई नै हत्याको साक्षीका रूपमा अदालतमा पेस गरेको थियो । सन् २००६ मा मलेसिया पुगेका तेली ओयल पाम फ्याक्ट्रीमा सामान्य श्रमिकका रूपमा काम गर्थे । उनी मलेसिया भाषामा दख्खल राख्छन् । कान्तिपुर दैनिकमा खबर छ ।