परोपकारी संस्था नेपाल रेडक्रसमा करोडौं हिनामिना

पत्रपत्रिकाबाट

आइतबार, २१ भदौ २०७७, ०७ : ५७
परोपकारी संस्था नेपाल रेडक्रसमा करोडौं हिनामिना

काठमाडौं । राष्ट्रिय विपद्का बेला सहयोग गर्दै आएको परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले १६ अर्बको हिसाब गोलमाल गर्दै करोडौं रुपैयाँ हिनामिना गरेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समाज कल्याण परिषद्मार्फत राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीको संयोजकत्वमा रेडक्रसका गतिविधि छानबिन गर्न गठित कार्यदलको प्रतिवेदनअनुसार १० वर्षमा १६ अर्बको हिसाब गोलमाल गर्दै करोडौं हिनामिना गरेको देखिएको हो ।

छानबिन समितिका अन्य सदस्यमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. पद्मप्रसाद खतिवडा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल, समाज कल्याण परिषद्का कामु निर्देशक प्रह्लादबाबु पन्त र समाज कल्याण परिषद्का सहायक निर्देशक प्रकाश पंज्ञानी थिए। समितिको प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले थप अनुसन्धान गरिरहेको छ।

रेडक्रसले १० वर्षमा वैदेशिक सहयतामार्फत करिब १६ अर्ब रुपैयाँ लिएको र त्यसबारे सरकारलाई समेत जानकारी नदिई खर्च गरेको पाइएको छ। प्रतिवेदनअनुसार रेडक्रसले १५ अर्ब ९५ करोड ६ लाख रुपैयाँ अनुदान लिएको थियो। जसमध्ये सरकारको स्वीकृतिमा करिब १५ करोडमात्रै लिएको देखिन्छ। वर्षौंसम्म सञ्जीव थापा, देवरत्न धाख्वा, अजितकुमार शर्मा र देवेन्द्रबहादुर प्रधानको समूहले संस्थागतरुपमै भ्रष्टचार गरेको प्रतिवेदनले औंल्याएको छ। उनीहरुले तलबभत्ताबाहेक १० करोड ९० लाख ३३ हजार १ सय ९६ रुपैयाँको हिसाब नै देखाएका छैनन् ।

रकममा मात्रै होइन, रेडक्रस सोसाइटीका नाममा रहेका अचल सम्पत्तिको पनि कुनै अद्यावधिक विवरण नराखेको छानबिन समितिले जनाएको छ। रेडक्रसले केन्द्रीय कार्यालय र जिल्ला कार्यालयको स्वामित्व र भोगचलनको वास्तविक अवस्था नखुलेको र जग्गा तथा सम्पत्तिको एकीकृत विवरण तयार पारी अद्यावधिक नगरेको प्रतिवेदनमा उल्लेख छ।

संस्थाले आफ्नो सम्पत्ति कहाँ, कति र कस्तो अवस्थामा छ भन्ने विवरण अद्यावधिक नगर्दा सम्पत्तिको अधिकतम उपयोग गर्ने नीतिअनुरूप सम्पत्ति परिचालन गर्न नसकी करोडौं रुपैयाँको सम्पत्ति हिनामिना भएको समितिको ठहर छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस