उत्कृष्ट खेल प्रस्तुत गर्दै पदमपोखरी र शहिद स्मारक विजयी

सोमबार, २१ फागुन २०७४, २० : ४५
उत्कृष्ट खेल प्रस्तुत गर्दै पदमपोखरी र शहिद स्मारक विजयी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा मकवानपुरको हेटौंडा–४ स्थित हुप्रचौर मा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा वडा नम्बर १२ पदमपोखरी फुटबल टिम र वडा नम्बर ११ को सहिद स्मारक फुटबल टिम विजयी भएको छ ।
पहिलो खेलमा ५ नम्बर वडाको रुद्रेश्वर फुटबल टिमलाई २–१ गोल अन्तरले हराउँदै १२ नम्बर वडा पदमपोखरी विजयी भएको हो । ३७ औं मिनेटमा अशोक घलानले पेनाल्टीमार्फत गोल गर्दै १२ नम्बरले अग्रता लिएको थियो । १२ नम्बरकै लागि ५९ औं मिनेटमा सुरज पाख्रिनले गोल गर्दै अग्रता दोब्बर बनाए । यता रुद्रेश्वर फुटबल टिमको तर्फबाट दोस्रो हाफमा पाएको पेनाल्टीलाई सञ्जीव अर्यालले सदुपयोग गर्न सकेनन् । यू–१४ का राष्ट्रिय खेलाडी समेत रहेका अर्यालको प्रहार १२ नम्बरका गोलरक्षक सुचन लोप्चनले सजिलै रोकेका थिए ।
६९ औं मिनेटमा रुद्रेश्वरका लागि एन्जल महर्जनले गोल गरेपनि हारबाट भने टार्न सकेनन् । खेलको म्यान अफ दी म्याच भएका १२ नम्बरका गोलरक्षक सुचन लोप्चनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
दोस्रो खेलमा १४ नम्बर वडाको चुरेकालिका टिमलाई १–० गोल अन्तरले हराउँदै ११ नम्बर वडाको सहीद स्मारक टिम अघिल्लो चरणमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको ४८ औं मिनेटमा अजय क्षेत्रीले गरेको गोलले स्मारक टिम विजयी भएको हो । दुवै टिमको तर्फबाट गोल गर्ने केही राम्रा मौकाहरु निस्किएको भएपनि थप गोल भने हुन सकेन ।


खेलको म्यान अफ दी म्याच सहीद स्मारक टिमका गोलकर्ता अजय क्षेत्री नै घोषित भए । उनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
जारी प्रतियोगितामा भोली मंगलबार ८ नम्बर वडा र १७ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १६ नम्बर वडा र १३ नम्बर वडाको बीचमा हुनेछ । २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एकलाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैंयासहित ट्रफी प्रदान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस