कोरोना संक्रमण र नियन्त्रणमा खटिनेलाई अभद्र व्यवहार गरे १ वर्ष कैद

पत्रपत्रिकाबाट

आइतबार, १४ भदौ २०७७, ०७ : ४२
कोरोना संक्रमण र नियन्त्रणमा खटिनेलाई अभद्र व्यवहार गरे १ वर्ष कैद

काठमाडौं । गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण र रोकथाममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, संक्रमित र तिनको परिवारमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । 

कोरोना नियन्त्रण गर्न खटिने कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्मानपूर्वक उत्प्रेरणा गर्नुपर्नेमा काठमाडौं, चितवन, मोरङलगायत स्थानमा उच्छृंखल व्यक्ति, समूहले धम्की दिएको, घरमा जान अवरोध गरेको र दुर्व्यवहार गरेको भन्दै गृह मन्त्रालयले निर्देशन जारी गरेको हो । 

संक्रमित र उसको परिवार उच्छृंखल व्यक्तिहरूबाट गैरकानुनी, अमानवीय एवं अपमानजनक व्यवहार गरे संक्रमण रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्न सकिने उल्लेख छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले मुलुकी अपराध संहितामा व्यवस्थाअनुसार पनि कारबाही गर्न सकिने बताए ।

मुलुकी अपराध संहिताको दफा ११८ को स्वास्थ्यकर्मी तथा संक्रमित र उसको परिवारलाई अभद्र व्यवहार गर्नेलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै जरिवाना हुन सक्ने व्यवस्था छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस