जब श्रीमानले कहिल्यै झगडा नगरेको र धेरै माया गरेको भन्दै श्रीमतीले मागिन् डिभोर्स

एजेन्सी

विहीबार, ११ भदौ २०७७, १३ : ५०
जब श्रीमानले कहिल्यै झगडा नगरेको र धेरै माया गरेको भन्दै श्रीमतीले मागिन् डिभोर्स

एजेन्सी । आफ्नो श्रिमानले आफूलाई बढि माया गरेको र कहिल्यै पनि झगडा नगरेको कारण देखाउँदै श्रीमतीले डिभोर्स मागेकी छिन् ।

यो घट्ना छिमेकी मुलुक भारतको उत्तरप्रदेशस्थित सम्भाल जिल्लाको हो । त्यहाँ एकजना महिलाले बिहेको १८ महिनापछि पतिसँग डिभोर्स मागेकी छिन् । लोग्नेसँग डिभोर्स माग गर्दै एनी सम्भाल जिल्लाको शरिया अदालतमा निवेदन दिएकी हुन् । उनले शरिया अदालतमा दिएको निवेदनमा डिभोर्स गर्नुपर्नाको जुन कारण खुलाएकी छिन्, त्यसले सबैलाई आश्चर्यमा पार्यो । 

शरिया अदालतमा दिएको निवेदनमा उनले भनेकी छिन्, ‘न त उहाँ मसँग कहिल्यै चर्को बोल्नुभयो, न त मलाई कुनै कुरामा कहिल्यै निरास पार्नुभयो । यस्तो वातावरणमा साँच्चीकै म उकुसमुकुस भएकी छु ।’

आफूले गल्ती गर्दा समेत लोग्नेले सधैँ कुनै परवाह नगरेको र आफु उल्टै विवाद गर्न खोज्दा पनि नरिसाउने गरेको उनले बताएकी छिन् । आफ्ना हरेक कुरामा लोग्नेले सहमती जनाउने जिन्दगी आफुलाई मन नपरेको उनको जिकिर छ ।

पछिल्लो १८ महिनामा लोग्नेसँग एकपटक पनि झगडा नहुँदा आफु निरास तथा दिक्क भएको पनि उनले बताएकी छिन् ।लोग्नेले आफुसँग झगडा नगर्ने मात्र होइन खाना पकाउने लगायतका घरेलु कामकाजमा समेत सघाउने गरेर दिक्क पारेको उनको भनाई छ ।

उनको दाबी सुनेसँगै शरिया अदालतका धर्मगुरु तिनछक परे र डिभोर्स माग्नुको कारण व्यर्थको रहेको भन्दै उनको निवेदन खारेज गरे । त्यसक्रममा ती महिलालाई उनले डिभोर्स माग्नुको अरु कुनै कारण पनि छ कि भनेर सोधियो । तर उनले अरु कुनै कारण नभएको बताएकी थिइन् ।

शरिया अदालतले उनको डिभोर्सको निवेदन खारेज गरिदिएपछि उनको निवेदनका बारेमा स्थानीय पञ्चायतमा पनि छलफल भयो । पञ्चालतले पनि उनको दाबी खारेज गरिदियो ।

पञ्चायतमा भएको छलफलमा उनका पतिले आफू पर्फेक्ट श्रीमान बन्न चाहेको र आफूले कुनैपनि गल्ती नगरेको बताए । त्यसअघि उनले पत्नीलाई डिभोर्सको निवेदन फिर्ता लिन आग्रह गर्दै शरिया कोर्टमा अपिल गरेका थिए । 

सो अपिललाई आधार मान्दै अदालतले आपसी मामिलालाई आपसमै मिलाउन ती श्रीमान श्रीमतीलाई आदेश दिँदै डिभोर्सको निवेदन खारेज गरेको थियो । 

प्रतिक्रिया दिनुहोस