दसैँको लागि तीन हजार खसीबोका र च्याङ्ग्रा किनिने

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, १४ : २४
दसैँको लागि तीन हजार खसीबोका र च्याङ्ग्रा किनिने

काठमाडौं। आगामी दसैँसम्म कोरोना भाइरसको अवस्था कस्तो हुन्छ, थाहा छैन । कोरोनाको कहरको अवस्था जस्तो भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने दशैँ तिहारका लागि  तीन हजार वटा खसी, बोका र च्याङ्ग्रा किन्ने भएको छ।नेपालमा सबै भन्दाबढी मासु खपत हुने समय दशैँ तिहार नै हो ।

दशैँ तिहारमा विषेशगरी काठमाडौं उपत्यकामा खसी, बोका र च्याङ्ग्राको माग बढी हुन्छ। त्यही मागलाई सम्बोधन गर्नका लागि तीन हजार वटा खसी, बोका र च्याङ्ग्रा किन्ने भएको हो।

कम्पनीले एक हजार ४०० वटा च्याङ्ग्रा र एक हजार ६०० वटा खसी, बोका किन्ने तयारी गरेको छ। त्यसका लागि कम्पनीले पाँच करोड ९९ लाख ८४ हजार रूपैयाँ छुट्टयाएको छ। कम्पनीका अनुसार खाद्य कम्पनीले दशैँको माग धान्नलाई नभई मासुको मूल्यवृद्धि रोक्ने लक्ष्यसहित खसी, बोका किन्न लागेको हो।

कम्पनीले अघिल्लो वर्ष एक हजार खसी, बोका र दुई हजार च्याङ्ग्रा बेचेको थियो । कम्पनीले खसी, बोका किन्नका लागि ३ करोड ३८ लाख ६४ हजार रूपैयाँ बजेट छुट्याएको छ। यस्तै, च्याङ्ग्रा किन्नलाई २ करोड ६१ लाख २० हजार रुपैयाँ छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस