हङकङका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण दोहोरियो

एजेन्सी

मंगलबार, ०९ भदौ २०७७, १२ : २७
हङकङका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण दोहोरियो

सांकेतिक तस्विर

एजेन्सी । हङकङका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण दोहोरिएको छ ।

समाचार स्रोतका अनुसार ३० वर्षका ती व्यक्तिमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भएर निको भएको साढे चार महिनापछि पुनः संक्रमण पाइएको हो ।

ती व्यक्तिमा साढे चार महिनाअघि संक्रमण भएको भाइरस र अहिलेको भाइरसबीच स्पष्ट रुपमा आनुवंशिक भिन्नता रहेको वैज्ञानिकको भनाई छ । एक व्यक्तिमा दोहोरिएर कोरोना भाइरसको संक्रमण भएको यो पहिलो प्रमाणित केस हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक व्यक्तिमा पुनः संक्रमण देखिएको घटनाबाटै कुनै निष्कर्षमा नपुग्न भनेको छ । विज्ञहरुले दोहोरिएर हुने संक्रमण अति दुर्लभ रहेको तथा दोस्रोपटक हुने संक्रमण त्यति गम्भीर नहुने बताएका छन् ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड ३५ लाख ६६ हजार भन्दा धेरै छ। त्यसमध्ये ८ लाख ११ हजार भन्दा धेरैको ज्यान गएको छ ।

संक्रमित व्यक्तिको शरीरमा भाइरसविरुद्ध लड्नका लागि प्रतिरक्षा प्रणाली विकास हुन्छ । त्यसले पुनः संक्रमण हुनबाट पनि रोक्छ। अति दुर्लभ अवस्थामा मात्रै पुनः संक्रमण हुने गर्छ ।

संक्रमणबाट गम्भीर बिरामी परेका व्यक्तिमा सबैभन्दा बलियो प्रतिरक्षा प्रणालीको विकास भएको पाइएको छ। तर सो प्रतिरक्षा प्रणाली कति बलियो र कहिलेसम्म प्रभावकारी रहन्छ भन्ने स्पष्ट भएको छैन ।

सो कुरा थाहा पाउनका लागि कोरोना भाइरसबाट संक्रमित भइ निको भएका व्यक्तिहरुमा बिस्तारित अध्ययनको खाँचो रहेको डब्लुएचओले बताएको छ ।

प्रतिक्रिया दिनुहोस