भारतमा १६ दिनमा २० लाख थप सङ्क्रमित

एजेन्सी

आइतबार, ०७ भदौ २०७७, २१ : २९
भारतमा १६ दिनमा २० लाख थप सङ्क्रमित

काठमाडौँ । कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा पछिल्लो १६ दिनमा २० लाख सङ्क्रमित थपिएका छन् । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार जति पछि भयो, सङ्क्रमितको सङ्ख्या पनि त्यति नै बढी भइरहेको देखिएको छ । 

भारतमा कोरोनाभाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या आइतबारसम्ममा तीस लाख नाघिसकेको छ । तीमध्ये ७४.९० प्रतिशतलाई निको भइसकेको छ । 

बाँकी केहीको मृत्यु भएको छ भने केहीको अहिले पनि उपचार भइरहेको छ । उनीहरु अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २२ लाख ८० हजार ५६६ जना सङ्क्रमणमुक्त भइसकेका हुन् । पछिल्लो एकैदिनमा भारतमा ६९ हजार २३७ जना सङ्क्रमित भएका छन् भने ९१२ जनाको मृत्यु भएको छ । 

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या ५६ हजार ७०६ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाबाट सङ्क्रमित भएकामध्ये १.८६ प्रतिशतको मृत्यु भएको देखिएको छ । 

भारतमा अहिलेपनि सात लाख सात हजार ६६८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।