जसले पाँच मिनेटमै उडाइदिए चितुवाको प्राणपखेरु

सफल खबर संवाददाता

आइतबार, ०७ भदौ २०७७, १४ : ११
जसले पाँच मिनेटमै उडाइदिए चितुवाको प्राणपखेरु

लमजुङ । सुन्दा पनि पत्याउन मुस्किल पर्छ । तर नपत्याइ् सुखै छैन । जसले पाँच मिनेटमा आक्रमणकारी चितुवाको प्राणपखेरु उडाइदिए । 

बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले चितुवाको प्राणपखेरु उडाइदिएका हुन् । थापा र चितुवाबीच पाँच मिनेट भिडन्त भयो, आखिर चितुवालाई थापाले मारेर नै छोडे । ६८ वर्षीय थापा नेपाली सेनाका पूर्वलप्टन हुन्।

घटना यस्तो थियो 

बिहानै गाउँमा हल्ला चल्यो– चितुवा पस्यो । यो खबर हरिबहादुरको कानमा पुग्यो । घरघर डुलेको चितुवाले बालबालिका र बाख्रालगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने ठानेर गाउँलेहरू डराए। होहल्ला भयो । गाउँभरि चितुवा आयो, सतर्क बनौँ भन्ने हल्ला पनि फिजिँयो । चितुवा भगाउन होहल्ला गरे। तैपनि चितुवाले गाउँ छाडेन । 

डुल्दै अचानक चितुवा हरिबहादुरको नजिक आयो । उनी नजिकै एक जना बालक खेलिरहेका थिए । एक्कासी बालकमाथि चितुवा जाइलाग्यो । हरिबहादुरले हातमा हँसिया लिए । उनीमाथि पनि चितुवाले आक्रमण गर्न खोजेपछि उनले चितुवालाई झम्टे । हरिबहादुरले हँसियाले एक पटक चितुवाको नाकमा हाने । चितुवा भुनभुनियो । थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै भयो । चितुवाले पनि थापालाई पाखुरा, घुँडामा आक्रमण गर्दागर्दै पटकपटक उनले चितुवालाई हँसियाले नाकैनाकमा हिर्काए । 

‘पाँच मिनेटको समयमा चितुवाले मलाई तीनपटक आक्रमण गरेको थियो, मैले हँसियाले पटकपटक आक्रमण गरेँ । हामी एकअर्कोलाई आक्रमण गरिरह्यौं,’ हरिबहादुरले भने, । हरिबहादुरले चितुवालाई नमार्दासम्म छोडेनन्, पटकपटक आक्रमण गरे । हरिबहादुरले अन्तिममा हँसियाले चितुवाको टाउकोमा अन्तिम प्रहार गरेपछि चितुवा उठ्न सकेन, त्यही उसले प्राण त्याग्यो । हरिबहादुरको चितुवाले हातको औंला टोकिदिएको छ। खुट्टाका घुँडामा चिथोरेको छ। पाखुरामा गहिरो गरी नङ्ग्राले कोपरिदिएको छ। 

चिुतवासँगको  भिडन्तमा हरिबहादुर थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन्। अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ । मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ ।


 

प्रतिक्रिया दिनुहोस