उपत्यका ‘हटस्पट’ बन्‍ने जोखिम

पत्रपत्रिकाबाट

विहीबार, ०४ भदौ २०७७, ०८ : ०७
उपत्यका ‘हटस्पट’ बन्‍ने जोखिम

काठमाडौँ । काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने खतरा रहेको औंल्याउँदै संक्रमितको उपचार गर्न तत्काल १० हजार शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ ।

अस्पतालमा आइसोलेसन वार्ड पर्याप्त नहुँदा संक्रमित व्यक्ति घरघरमा बस्न बाध्य भएको उल्लेख गर्दै काठमाडौं डीसीसीएमसीले राजधानीका थप ९ अस्पताल र एक आवास केन्द्रको संरचनालाई ‘कोभिड–१९’ डेडिकेटेड उपचार केन्द्र बनाउन पनि सिफारिस गरेको छ ।

सीसीएमसीलाई उक्त सिफारिस गरेलगत्तै मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना महामारीले भयावह रूप लिने खतरा बढेपछि थप डेडिकेटेड उपचार केन्द्र बनाउन सिफारिस गरिएको बताए ।

‘आइसोलेसन बेड अभावमा संक्रमित घर तथा टोलटोलमा बस्न बाध्य छन्, यस्तो अवस्थामा निजी स्वास्थ्य संस्थाका संरचनालाई सरकारले आवश्यकताअनुसार उपयोग गर्नुपर्छ । त्यसका लागि थप नौ अस्पताल र एक आवास केन्द्रलाई कोभिड–१९ प्रयोजनका लागि प्रयोग गर्न सिफारिस गरेका छौं ।’ सिफारिस गरेअनुसारका स्वास्थ्य संस्थालाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।