अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको क्षमता घटाइने

एजेन्सी

आइतबार, ३२ साउन २०७७, २० : ४२
अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको क्षमता घटाइने

काठमाडौं । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाका सेनाको वार्षिक संयुक्त सैन्य अभ्यास यसै साता शुरु हुँदैछ । दक्षिण कोरियाका सैन्य प्रमुखले कोरोनाभाइरसको संक्रमण फैलिएसँगै यस्तो सैन्य अभ्यासलाई कम्प्युटर–आधारित युद्ध अभ्यासमा सीमित गरिने बताउनु भएको छ । 

यही मंगलबारदेखि आगामी अगस्ट २८ सम्म हुने यस सैन्य अभ्यासले पनि उत्तर कोरियालाई चिढ्याउने अनुमान गरिएको छ । उत्तर कोरियाले विगतदेखि नै दक्षिण कोरिया–अमेरिका सैन्य अभ्यासलाई आफ्नो मुलुकविरुद्धको अतिक्रमणका रुपमा व्याख्या गर्दै आएको छ । 

उत्तर कोरियाले संयुक्त सैन्य अभ्यासलाई जारी राखिए हाल अबरुद्ध वार्तालाई पुनः शुरु नगर्ने चेतावनी दिँदै आएको छ । 

यो सैन्य अभ्यास निकै नाजूक स्थितिमा आयोजना गर्न लागिएको छ किनभने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ झण्डै २८ हजार ५०० अमेरिकी सैनिकको खर्च व्यवस्था गर्न दक्षिण कोरियामाथि दबाब दिइरहनु भएको छ । यी सैनिक खासगरी दक्षिण कोरियाको सुरक्षाका लागि तैनाथ गरिएको हो । 

दुबै मुलुकबीच लागत साझेदारी सम्बन्धमा वार्ताहरु भए पनि सन् २०१९ मै समाप्त भएको उक्त सम्झौतामा पुनः सहमति हुन सकेको छैन ।  पछिल्लो सैन्य अभ्यासमा कमान्ड पोस्ट तालिम आयोजना गरिनेछ जसअन्तर्गत विभिन्न युद्ध परिस्थितिका लागि दुबै मुलुकका सेनालाई तम्तयार राख्न कम्प्युटर आधारित तालिममा सहभागी गराइनेछ । 

दक्षिण कोरियाली सेना प्रमुखले तालिममा कति सैनिक सहभागी हुन्छन् भन्ने बारेमा केही बताउनु भएन । तर गत वर्षभन्दा निकै कम संख्यामा मात्र सैनिकहरुको सहभागिता रहनेछ । विगतमा दुबै मुलुकका दशौं हजार सैनिक सहभागी हुने प्रचलन थियो । 

यस वर्ष कोरोनाभाइरस महामारीका कारण अन्यत्रबाट आउने अमेरिकी सैनिकको संख्यामा पनि व्यापक कमी हुनेछ । दुबै मुलुकका सेनाको यसअघि हिउँदे मौसममा गर्ने नियमित सैन्य अभ्यास पनि स्थगित भएको थियो । 

प्रतिक्रिया दिनुहोस