पहिरोमा परी तीनको मृत्यु : पुष्पलाल लोकमार्ग अवरुद्ध

रासस

शनिबार, ३१ साउन २०७७, १४ : ०४
पहिरोमा परी तीनको मृत्यु : पुष्पलाल लोकमार्ग अवरुद्ध

बागलुङ । निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएका पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय बालक प्रवेश विक र वडा नं. ३ का ६० वर्षीया बली विक रहेका छन् । 

घरमाथिबाट खसेका पहिरामा पुरिएका तीनै जनालाई मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । 

मृतक वीरेन्द्र स्थानीयवासी हिरा विक र प्रेवश दिलसरा विकका छोरा हुन् । साठी वर्षीया मृतक बली ठुच्चे विककी श्रीमती रहेको प्रहरीले जनाएको छ । त्रिपन्न वर्षीया दिलसरा सामान्य घाइते भएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । 

पहिरो गएको खबर पाउनसाथ प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरी टोली पनि घटनास्थल पुगेको छ । अविरल वर्षासँगै खसेको पहिरोले निसीखोलामा पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि अवरुद्ध भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस