‘सतर्क रहौं, नआत्तिऔं, मनोबल बढाऔं

पत्रपत्रिकाबाट

शनिबार, ३१ साउन २०७७, ०८ : ०८
‘सतर्क रहौं, नआत्तिऔं, मनोबल बढाऔं

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि सतर्कता अपनाउँदै मनोबल उच्च बनाउन सके यसलाई जित्न सकिने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार संक्रमितमध्ये सय जनामा ६७ जना निको भएर घर फर्किएका छन् ।

कुल संक्रमितलाई आधार मान्दा एक सय जनामा ६७ जना निको भएर घर फर्किएका हुन् । अन्य केही पनि सन्चो हुने क्रममा रहेकाले कोरोना संक्रमण हुनेबित्तिकै मरिन्छ कि भन्ने डर र त्रास भने लिन नहुने चिकित्सकको सुझाव छ ।
संक्रमित २५ हजार ५ सय ५१ मध्ये हालसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन्, जुन ६६ दशमलव ८३ प्रतिशत हो ।

संक्रमितहरू मध्ये डिस्चार्ज हुनेको संख्या पनि उल्लेखनीय रहेको भन्दै नआत्तिन र सतर्क रहनुपर्ने चिकित्सकको सुझाव छ । पछिल्ला २८ दिनमा ५ हजार ५ सय ४३ जना डिस्चार्ज भएका छन् । गत २ साउनसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भएका थिए ।

कोरोना भाइरस संक्रमण दर बढ्दै गएको भन्दै चिकित्सकले सतर्क रहन र आत्मानुशासन कायम गर्न सुझाव दिएका छन् । उनीहरूले सकभर घरमै बस्न आग्रह गरेका छन् । सकभर बाहिर ननिस्कन तथा निस्कनै परे भौतिक दुरी कायम गर्न र सरसफाइमा जोड दिन आग्रह गरेका छन् । राजधानी दैनिकमा खबर छ ।