२५ बैंकको विवरण सार्वजनिक : नाफा घट्यो

रासस

शुक्रबार, ३० साउन २०७७, २० : १९
२५ बैंकको विवरण सार्वजनिक : नाफा घट्यो

काठमाडौं । कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भयो । 

अन्य क्षेत्र जस्तै बैंक तथा वित्तीय संस्थाको अवस्थासमेत कोरोनाका कारण समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६÷७७ मा हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ । सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६÷७७ को वार्षिक विवरण प्रकाशित गरेका छन् । उनीहरुले आज सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य बैंकको नाफामा समेत असर परेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकको नाफामा प्रत्यक्ष असर पारेको छ । बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत  वित्तीय विवरण अनुसार आव ०७६÷७७ मा कूल रु ५१ अर्ब १७ करोड बराबरको नाफा गरेका छन् ।  अघिल्लो आवमा रु ५७ अर्ब ४४ करोड नाफा गरेका थिए । 

अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुको नाफा झण्डै ११ प्रतिशतले घटेको छ । विवरण अनुसार बैंकको नाफा रु छ अर्ब २७ करोडले घटेको हो । वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये कूल १८ बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको पाइएको छ । विवरणअनुसार सात वाणिज्य बैंकको नाफामा सामान्य वृद्धि भएको छ । 

आव ०७६÷७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक रहेको छ । सो बैंकको नाफा ३५ प्रतिशतले घटेको छ । नेपाल एसबिआई बैंकको नाफा ३३.२२, कुमारी बैंकको ०.३१ प्रतिशत छ । विवरणअनुसार माछापुच्छ्रे २६.२२, सानिमाको २४.५६, सिटिजन्स बैंकको २३.७२, नेपाल इन्भेष्टमेन्टको २२.६३, बैंक अफ काठमाडौँको २२.२१ र नेपाल बङ्गलादेश बैंकको नाफा २०.७५ प्रतिशतले घटेको छ । 

यस्तै, स्ट्यान्डर्ड च्यार्टर्ड बैंकको १८.५१, सनराइजको १८.३५, एभरेष्टको १८.१४, नबिलको १५.८५ र राष्ट्रिय वाणिज्य बैंकको ११.७७ प्रतिशतले नाफामा गिरावट आएको छ । सिद्धार्थको ८.२६, हिमालयनको आठ, नेपाल बैंकको १.५५ र कुमारी बैंकको ०.३१ प्रतिशतले नाफा घटेको छ ।

त्यसैगरी  सेञ्चुरी बैंकले  ३३.९७, ग्लोबल आइएमईले ११, एनसिसीले १०.७४, प्राइमले ४.२७, एनआइसी एसियाले ३.२४ र एनएमबी बैंकले ०.५९ प्रतिशत मात्रै नाफा गरेको आज प्रकाशित विवरणमा समावेश छ । 

राष्ट्रिय वाणिज्य बैंकले रु चार अर्ब ४५ करोड नाफा आर्जन गरेको छ । सिभिल बैंकले रु ४५ करोड ७० लाख नाफा आर्जन गरेको छ । नबिल बैंकले रु तीन अर्ब ५६ करोड, एनआइसी एसिया बैंकले रु तीन अर्ब १२ करोड नाफा कमाएको छ । 

गत वर्ष जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकले रु तीन अर्ब आठ करोड कमाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले रु दुई अर्ब ५७ करोड नाफा कमाएको छ । हिमालयन बैंकले रु दुई अर्ब ५४ करोड नाफा गरेको छ । माछापुच्छ्रे बैंकले रु एक अर्ब २५ करोड, सानिमा बैंकले रु एक अर्ब ७० करोड नाफा गरेको छ ।