सिन्धुपाल्चोक पहिरोमा बेपत्ता हुनेहरुको खोजी र उद्धार कार्यमा जुट्न नेकपा अध्यक्ष प्रचण्डको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०७७, १६ : ००
सिन्धुपाल्चोक पहिरोमा बेपत्ता हुनेहरुको खोजी र उद्धार कार्यमा जुट्न नेकपा अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक पहिरोमा बेपत्ता हुनेको खोजी र उद्धार कार्यमा जुट्न आग्रह गर्नुभएको छ । 

अध्यक्ष प्रचण्डले पहिरोबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मा भएको जनधनको क्षतिले आफूलाई स्तब्ध बनाएको बताउँदै सम्बन्धित निकायलाई खोजी र उद्धार कार्यमा जुट्न आग्रह गर्नुभएको छ । शुक्रबार बिहान जुगल गाउँपालिका लिदीमा १३ घर पुरिँदा ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको थियो ।

शुक्रबार समवेदना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उक्त घटनामा बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयंसेवी र सुरक्षाकर्मीलाई आव्हान गर्नुभएको छ । प्रचण्डले वर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सरकारलाई अपिल गर्नुभएको छ । 

‘पहिरोमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ प्रचण्डद्वारा जारी गरेको समवेदना पत्रमा भनिएको छ, ‘सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु भएकाहरुमा पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस