यसरी हेर्दा नेकपा विभाजनको खतरा टरेको देखिन्छ

पत्रपत्रिकाबाट

विहीबार, २९ साउन २०७७, ११ : ५५
यसरी हेर्दा नेकपा विभाजनको खतरा टरेको देखिन्छ

फाइल फोटो

काठमाडौँ । गएको आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियानले संसदीय दलबाट विषयको छिनोफानो लगाउने नयाँ बाटो पक्डिँदैछ ।  

त्यसो गर्दा यदि माधव–प्रचण्डका सांसदहरु चोरिएछन् भने पनि प्रधानमन्त्रीको पक्षमा बहुमत पुग्न चार सांसदको अभाव छ । एक सय ७४ सांसद रहेको सत्तारुढ दलमा प्रचण्ड समूहसँग सभामुखबाहेक ५२ र माधव–झलनाथसँग ४३ को संख्या छ । यी दुबै समूहसँग जम्मा ९५ को संख्या छ भने बाँकी रहेका ७९ सांसद प्रधानमन्त्री पक्षधर हुन् । माधव पक्षको हिसाबलाई केपी पक्षले मानेको छैन ।

टिकट पाउँदा माधव पक्षका गोपाल बमले ओलीको पक्षमा हस्ताक्षर गरिसकेका छन् । अबको पुनर्गठनमा फेरि मन्त्री बनाउँला भनिएका कारण डोल्पाका सांसद धनबहादुर बूढा आफूतिर टिक्ने बालुवाटारको विश्वास छ । वामदेवपक्षीय (पत्नी) कुमारी तुलसी थापा (बर्दिया), बीना बुढाथोकी मगर (कञ्चनपुर) र विमला विक (बर्दिया) लाई पनि ओलीतिर गनिएको छ । त्यसमध्ये मत विभाजन हुने अवस्थामा तुलसी र विमला वामदेवको लाइनमा हुन्छन् ।

दुबैतिर हस्ताक्षर गरेकी बीना र निरा जैरुबारे दुबै पक्षले केही भन्न सकेका छैनन् । उनलाई राज्यमन्त्री दिउँला भनेर थामथुम पारिएको बताइन्छ । पूर्वमाओवादीतिर प्रचण्डहरुले यकिन गरेको संख्यामा बालुवाटारले कम्तिमा दुई जनाको नाम काटेको छ । ती हुन्, लेखराज भट्ट र टोपबहादुर रायमाझी । मार्नौँ यी सबै केपी पक्षकै भएछन् भने पनि मत बराबर हुनका लागि त्यो समूहलाई अझै चार जना पुग्दैन । 

मन्त्रीमध्ये घनश्याम भूषाल, योगेश भट्टराई, रामवीर मानन्धरको स्थिति अहिलेसम्म स्पष्ट छैन । तर, दुबै समूहले घनश्याम र योगेशलाई आफूतिर गनेका छन् । रामवीरमा बालुवाटारको निर्देशनमा नाममात्रको राज्यमन्त्री बनाइएको तीव्र असन्तुष्टि छ । (जनआस्थाबाट)

प्रतिक्रिया दिनुहोस