प्रधानमन्त्री ओलीले किन बोले : 'नेकपा पार्टी भित्रको विवाद ५ दिनमै मिल्छ ?'

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०७७, ०९ : ३३
प्रधानमन्त्री ओलीले  किन बोले  : 'नेकपा पार्टी भित्रको विवाद  ५  दिनमै मिल्छ ?'

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र गत असार १० मा शुरु भएको स्थायी समिति बैठकको निर्णय के हो ? थाहा छैन् । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यक्तिगत हठका कारण बैठक नै अवरुद्ध हुन पुगेको छ । पार्टीको विधि, पद्धती र प्रणाली नै ब्रेक लाग्न पुगेको अवस्था अहिले छ । 

उनको हठ र अहंकार एकातिर छदैंछ, अर्काेतिर अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि अडानमा टसमस भएको देखिदैन् । बरु उनीहरुले पार्टीका केन्द्रीय सदस्यहरुसँग छलफल र सुझाव माग गरिरहेका छन् ।  दुई अध्यक्षका बीचमा एक साता बढी समय देखि त सम्वाद नै प्रत्यक्ष रुपमा छैन् । प्रचण्डले गत शनिबार संसदीय दलका उपनेता तथा ओली पक्षका नेता सुवास नेम्वाङलाई खुमलटार बोलाएर मिलेर जाने प्रस्ताव ओलीका तर्फबाट ल्याउन आग्रह गरेर पठाएका थिए ।

तर ओलीले ५ वर्ष नै सरकारको नेतृत्व नछोड्ने, महाधिवशेनसम्म अध्यक्ष पनि नछोड्ने उही बनिबनाउ जवाफ आफु निकट महासचिव विष्णु पौडेलमार्फत पठाएका थिए । बुधबार बिहान मात्रै पनि प्रचण्डसँग महासचिव पौडेलले भेटवार्ता गरेका थिए  । खासगरी महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र जर्नादन शर्मा सबैभन्दा बढी दुई अध्यक्षसँगको सम्वादमा बाक्लो रुपमा लागेका छन् । कहिले प्रचण्ड त कहिले ओलीसँग यी नेताहरुले दुई अध्यक्षको प्रत्यक्ष सम्वाद नभएपनि भित्रभित्र सम्वाद गरिरहेकै देखिन्छन् । 

यसलाई मात्र आधार मानेर नेकपा विवाद मिल्यो भनिहाल्ने अवस्था छैन् । तर पनि प्रधानमन्त्री केपी ओलीले बुधबार साँझ एक टेलिभिजनलाई अन्र्तवार्ता दिदै भने, हप्ता दश दिन होइन, हप्ता भन्दा यतै ५ दिनमा फेरी म सँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो । भोलि १ भनेर भोलिबाट काउनडाउन शुरु गर्नुहोला ।  ओलीले कुन दाबीका साथ कस्तो सिनारियोको कुरा गरे ? यो अहिले अनुत्तरित छ । ओली निकट एक स्थायी समिति सदस्यले सफल खबरसँग भने, दुई अध्यक्ष प्रत्यक्ष सम्वाद नभए पनि उहाँहरुबीच टेलिफोनमा सम्वाद भईरहेकै छ । पार्टीका अन्य नेताहरुले पनि दुवै अध्यक्षका बीचमा मेडिएटरको भूमिका खेलिरहनुभएको छ ।

एक अर्कामा सन्देश आदानप्रदान भईरहेका छन्, यसले विवादलाई धेरै नै साँघुरो बनाउने काम भएको छ । त्यही आधारमा प्रधानमन्त्रीले ५ दिनको कुरा गर्नुभएको होला । लगानी बोर्डको सिइओमा विवादास्पद पृष्ठभूमिका सुशिल भट्टलाई नियुक्त गर्ने ओली सरकारको निर्णयपछि दुई अध्यक्षका बीचमा भनाभन भएको थियो । विवादास्पद छविका ब्यक्तीहरुलाई एकलौटी पार्टीमा छलफल बिनै राजनीतिक नियुक्ति दिएको लगायतका विषयमा पछिल्लो प्रत्यक्ष सम्वादमा ओली र प्रचण्डबीच भनाभन भएको थियो । 

बीचमा दुई नेता नभेटेरै भएपनि बीचका नेताहरुलाई प्रयोग गरेर सहमति नजिक पुर्याउने र मात्र आफुहरु निर्णायक छलफलमा बस्ने योजनामा दुई अध्यक्ष रहेका कारण पनि सम्वाद भित्री रुपमा दोश्रो पुस्ताका नेताहरुले बाक्लो बनाएर दुवै अध्यक्षलाई त्यसको बारेमा जानकारी गराउने काम भईरहेको ओली निकट ति स्थायी समिति सदस्यले बताए ।

कोरोना महामारी, निकट महाधिवेशन लगायतका विषयले पनि प्रचण्ड नेपाल पक्षपनि ओलीका विरुद्ध निर्णय लिएर जान सक्ने अवस्थामा नजान खोजेको र ओलीले पनि अब मिलेरै पार्टी एकता जोगाउनु पर्छ भन्ने सोच राख्न मिल्न थालेकोले नेकपा विवाद बल्झाउने भन्दा मिलाउनेमै पछिल्ला दिनमा गृहकार्य भईरहेको ति नेताको भनाई थियो ।

त्यसैलाई प्रधानमन्त्रीले ५ दिनको काउनटडाउनको कुरा गर्नुभएको होला, ओली निकट ति स्थायी समिति सदस्यले भने । तर प्रचण्ड नेपाल पक्षका एक स्थायी समिति सदस्य भने,  मिल्नका लागि ओलीले प्रस्ताव अगाडी सार्नुपर्ने बताएका छन् । ओलीको प्रस्ताव के हुन्छ, त्यसै आधारमा पार्टीभित्रको विवाद एउटा टुंगोमा पुग्ला, उनले भने । 

प्रतिक्रिया दिनुहोस