एकै दिन १० कोरोना संक्रमितको मृत्यु

पत्रपत्रिकाबाट

विहीबार, २९ साउन २०७७, ०७ : ०३
एकै दिन १० कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । कोभिड–१९ संक्रमित वृद्धि भएसँगै मृत्युदर र गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा उपचार गराउने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेको छ । आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ८९ पुगेको छ । 

कोभिड–१९ संक्रमणले पाटन अस्पतालमा मृत्यु भएकालाई बुधबार पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाहगृहमा अन्त्येष्टिअघि श्रद्धाञ्जली अर्पण गर्दै नेपाली सेनाका जवान । तस्बिर : इलिट जोशी/कान्तिपुर

मोरङ, बारा र धनुषाका दुई–दुई जना तथा काठमाडौं, कपिलवस्तु, महोत्तरी र धादिङका एक–एक जनाको मृत्यु भएको हो । तीमध्ये पाँच जना राजधानीका अस्पतालमा उपचाररत थिए । ‘एक दिनमा हालसम्मकै सबैभन्दा बढी मृत्यु पुष्टि बुधबार भयो,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

काठमाडौं उपत्यकामा दिनमा सयभन्दा बढी संक्रमित थपिइरहेका छन् । बुधबार मात्र १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १ सय ९, ललितपुरमा २१ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो । मुलुकभर भने ४ सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् । सहप्रवक्ता डा. अधिकारीले गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा जाने क्रम एक सातायता बढेको बताए । ‘हामी क्रिटिकल स्टेजमा छौं,’ उनले भने ।