बन्यो कोरोनाविरुद्ध खोप, कोरोनाविरुद्धको लडाइँमा आशा पलायो

पत्रपत्रिकाबाट

बुधबार, २८ साउन २०७७, ०८ : २८
बन्यो कोरोनाविरुद्ध खोप, कोरोनाविरुद्धको लडाइँमा आशा पलायो

बेलारुस । रुसले कोभिड–१९ विरुद्धको खोप तयार गरेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार कोभिड–१९ विरुद्ध विश्वकै पहिलो खोपलाई मान्यता दिइएको बताएका छन् । गमालेया रिसर्च इन्स्टिच्युटले बनाएको उक्त खोपलाई करिब २ महिनासम्म मानिसमा परीक्षण गरेर रुसी स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो ।

‘स्पुतनिक–५’ नाम दिइएको उक्त खोपको एक अर्ब मात्रा माग भइसकेको जनाइएको छ । उक्त खोप अक्टोबरदेखि आम सर्वसाधारणलाई दिने योजना बनाइएको छ । बीबीसीका अनुसार पुटिनले कोभिड–१९ विरुद्धको खोपबारे मंगलबार राजधानी मस्कोमा मन्त्रीहरूलाई जानकारी गराएका हुन् । उनले खोपले रोग प्रतिरोधात्मक क्षमता विकास गरेको र आवश्यक परीक्षण भइसकेको जनाएका छन् ।

पुटिनले यो खोप आफ्नी एक छोरीलाई समेत दिइएको बताए । ‘मेरी छोरी पनि परीक्षणमा सहभागी भइन्,’ उनले भने, ‘उनमा केही ज्वरो देखिएको भए पनि हाल उनी ठीक छिन् ।’ उनले कुनचाहिँ छोरीलाई खोप दिइएको हो भन्ने खुलाएका छैनन् । ६७ वर्षीय पुटिनका दुई छोरी छन् । राष्ट्रपति पुटिनले सार्वजनिक रूपमा छोरीबारे विरलै कुरा गर्छन् । कान्तिपुरमा एजेन्सीलाई उदृत गर्दै महत्वका साथ खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस