समुदायस्तरमा कोरोना परीक्षण

रासस

सोमबार, २६ साउन २०७७, ०७ : ३०
समुदायस्तरमा कोरोना परीक्षण

फाइल तस्विर

काठमाडौं । समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले आइतबार प्राप्त रिपोर्टअनुसार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । “समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था के छ भन्ने पहिचान गर्न प्रतिनिधिमूलक रुपमा स्वाब सङ्लन गरेर परीक्षण गरेका थियौँ”, उहाँले भन्नुभयो, “सबैको रिपोर्ट नेगेटिभ आएको छ ।”

जिल्लामा कोरोना परीक्षणका लागि करिब चार हजारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका र कोरोना सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा आएकासमेत गरी जिल्लामा तीन हजार ७६९ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तीमध्ये तीन हजार २७० पुरुष र ४९९ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।