– नारायण अधिकारी
चितवन । कोरोनाको बढ्दो सङ्क्रमण र बाढी पहिराको बाबजुद नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्दै गाउँ तहमा क्रियाशील सदस्यता बनाउने अभियानमा नेपाली काँग्रेस जुटेको हो ।
काँग्रेसले यसअघि रहेको क्रियाशील सदस्य सङ्ख्यामा ५० प्रतिशत सङ्ख्या थप गर्न र नवीकरणका लागि वडा तहमा काम गरिरहेको छ । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वडामध्ये धेरैले पुरानो क्रियाशील सदस्य नवीकरण र थप क्रियाशील सदस्य वितरण सम्पन्न गरी नगर समितिमा पठाइसकेका छन् ।
यो महिनाभित्रमा वडाले नगर, प्रदेश, क्षेत्र हुँदै जिल्ला समितिमा क्रियाशील सदस्यको सङ्ख्या पठाइसक्नुपर्ने हुन्छ । श्रेष्ठले भने, “कोरोनाको जोखिमका कारण उच्च सावधानी अपनाउँदै वडा तहमा काम भइरहेको छ ।” ठाउँठाउँमा पार्टी प्रवेशको लहर पनि चलेको उनले बताए । लकडाउन खुलेसँगै यसअघि रोकिएको क्रियाशील सदस्यको काम शुरु भएको हो । यस अवधिमा जिल्लामा ५०० भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेको उनले जानकारी दिए ।
जिल्लामा यसअघि २० हजार ४०० क्रियाशील सदस्य थिए । पुनः १० हजार २०० सदस्य थप हुँदै छन् । कतिपयले नवीकरण नगर्ने हुँदा २८ हजारको हाराहारीमा क्रियाशील सदस्य हुने श्रेष्ठले बताए । गएको प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले समानुपातिकमा ९४ हजार मत पाएको थियो । आउँदो पार्टीको निर्वाचनमा तीन निर्वाचन क्षेत्रबाट २५ जनाका दरले ७५ जना महाधिवेशन प्रतिनिधि र ६ प्रदेशबाट १७ जनाका दरले १०२ प्रदेश प्रतिनिधि चयन हुनेछन् ।
महाधिवेशन प्रतिनिधि भएको व्यक्ति मात्र जिल्लाको सभापतिका लागि उम्मेदवार हुन योग्य हुन्छ । सभापतिका लागि क्रियाशील सदस्य बनेको १० वर्ष पुगेको हुनुपर्छ ।
नेपाली काँग्रेसको चितवनमा वडाको निर्वाचन पुस ६ गते, नगरको ८ गते, प्रदेशको ११ गते, क्षेत्रको १३ गते र जिल्लाको १६ गतेका लागि तोकिएको छ । माघमा प्रदेशको र फागुन ७ गते केन्द्रीय महाधिवेशन हुँदैछ । जिल्लामा नेतृत्वका लागि जिल्ला नेताले दौडधुप शुरु गरेका छन् । जिल्लाभरबाट क्रियाशील सदस्यले निर्वाचित गरी पठाएका दुई हजार ७०० प्रतिनिधिले जिल्ला अधिवेशनमा भाग लिनेछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ साउन २०७७, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल