कोरोना बढ्न थालेपछि बालुवाटारमा आपतकालिन बैठक

‘बालुवाटारमा बोलाईएको विज्ञहरुको छलफलमा नेकपा अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी काँग्रेस सभापति शेरबहादुर देउवा सहित संसदमा प्रतिनिधीत्व गर्ने दलका नेतालाई पनि बोलाईएको छ’

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १० : ४३
कोरोना बढ्न थालेपछि बालुवाटारमा आपतकालिन बैठक

फाइल फोटो

काठमाडौं । चार महिना लकडाउन गरेर कोभिड नियन्त्रणको सरकारले प्रयास गरेको बताएपनि लकडाउन खुलेसँगै हवात्तै कोरोना बढ्न थालेपछि सरकारले आपतकालिन बैठक बोलाएको छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा नेकपा अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवा र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुसहित २० भन्दा बढी विज्ञसँग ओलीले परामर्श गर्न लागेका हुन् । 

कोरोना दोश्रो चरणमा प्रवेश गरेर समुदायमै फैलिएर भयावह अवस्था आउन सक्ने सम्भावना देखिन थालेपछि प्रधानमन्त्री ओलीले विज्ञसहितको परामर्श बैठक बोलाएका हुन् ।  विज्ञहरुले दिने सुझावका आधारमा सरकारले आगामी कदम चाल्ने तयारी स्वरुप बैठक बोलाईएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।  

लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए । त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो । ‘अहिलेको अवस्था हेर्दा सरकारले केही न केही त उपाय अपनाउनै पर्ने भएको छ’, स्वास्थ्यमन्त्री ढकालले सफलखबरसँग भने,  ‘विज्ञहरू सहित राजनीतिक दलका नेताहरुले दिने सुझावका आधारमा सरकारले अब के गर्ने भन्नेमा रणनीति लिनेछ ।’

साउन ७ मा लकडाउन अन्त्य भएको घोषणा सरकारले गरेको थियो । तर सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० जनामा नेपालमा कोरोना संक्रमण देखिसकेको छ । विरगन्ज, सर्लाही, काठमाडौं, जनकपुर लगायतका क्षेत्रमा पछिल्लो पटक संक्रमितहरुको संख्या बढ्न थालेको छ । 

स्थान विशेषलाई लिएर लकडाउन लगाउने, फेरि जोरविजोर प्रणालीमा यातायातका साधन चलाउने जस्ता विषयमा सरकारले तयारी गरिरहेका बेला प्रधानमन्त्रीले विज्ञसहितको आपतकालिन छलफल बोलाएका हुन् । भीडभाड बढने, संक्रमितहरु बढेसँगै जनघनत्व बढी भएको स्थानमा संक्रमण फैलिए भयावह अवस्था आउन सक्ने भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गर्न थालेपछि ओलीले छलफलका लागि विज्ञहरुलाई बोलाएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस