झापाका दुई स्थानीय तहमा लकडाउन

रासस

आइतबार, १८ साउन २०७७, २१ : ०१
झापाका दुई स्थानीय तहमा लकडाउन

फाइल तस्विर

काठमाडौं । झापामा कोरोना सङ्क्रमित बढेका कारण दुईवटा स्थानीय तहले बन्दाबन्दी (लकडाउन) गरेका छन् । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको भन्दै अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले लकडाउन गरेका हुन् । अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि पाँच दिनका लागि बन्दाबन्दी गरेको छ भने बिर्तामोड नगरपालिकाले अनिश्चितकालका लागि बन्दाबन्दी गरेको हो । 

बिर्तामोड नगरपालिकाले आज अपराह्न नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै आइतबार राति १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि लकडाउनको घोषणा गरेको हो । कोरोना परीक्षण गर्नुपूर्व बाह्रदशी र इलामका कोरोना सङ्क्रमितहरु बिर्तामोडमा खुलेआम हिँड्डुल गरेको र उनीहरुको सम्पर्कमा आएकालाई कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले बिर्तामोडलाई लकडाउन गरिएको नगरपालिकाले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।  

कोरोना सङ्क्रमितको सम्पर्कमा आएका बिर्तामोडका ११६ जना यतिबेला होम क्वारेन्टिनमा छन् । होम क्वारेन्टिनमा बस्नेहरु केही राजनीतिकर्मीहरु पनि रहेका छन् । कोरोना सङ्क्रमित बाह्रदशी गाउँपालिकाका नेपाल कम्युनिष्ट पार्टीका नेता र सोही ठाउँका स्वास्थ्यकर्मी एवं औषधि व्यवसायीको सम्पर्कमा आएका बिर्तामोडका ६८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी होम क्वारेन्टिनमा राखिएको हो । 

त्यस्तै इलामका सङ्क्रमितको सम्पर्कमा आएका ४८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमितहरु आएपछि सम्भावित सङ्क्रमणको जोखिममा परेको बिर्तामोडमा पहिलोपटक ठूलो मात्रामा कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो  ।

बाह्रदशीका दुईजना सङ्क्रमितको सम्पर्कमा आएका ६८ र इलामका सङ्क्रमितको सम्पर्कमा आएका ४८ र अन्य गरी जम्मा १३३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले जानकारी दिनुभयो । उता बाह्रदशी गाउँपालिकाले वडा नं १, २ र ३ मा गरिएको बन्दाबन्दी आजदेखि खुलाएको छ । गाउँपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै लकडाउन खुलाएको जनाएको हो । 

प्रतिक्रिया दिनुहोस