रुससँग संसारको जुनसुकै कुनामा मार हान्न सक्ने ‘अजय’ परमाणु मिसाइल छ : पुटिन

एजेन्सी

शुक्रबार, १८ फागुन २०७४, १० : ५५
रुससँग संसारको जुनसुकै कुनामा मार हान्न सक्ने ‘अजय’ परमाणु मिसाइल छ : पुटिन

क्रेम्लिन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूसँग संसारको जुनसुकै कुनामा मार हान्न सक्ने मिसाइल रहेको बताएका छन् । उनका अनुसार सो मिलाइलले हरेक लक्ष्यलाई ध्वस्त बनाउन सक्नेछ ।
पुटिनले मिसाइल रोक्न असम्भव हुने दावी गरे । रुसमा हुन लागेको राष्ट्रपति चुनावभन्दा अघि राष्ट्रपतिको रुपमा आफ्नो आखिरी भाषणमा बोल्दै पुटिनले त्यसो भनेका थिए ।

पुटिनको सम्बोधनलाई रुसी सरकारी टीभीले देखाएको थियो । सो क्रममा पुटिनले मानिसहरुका अगाडि एउटा मार्गचित्र पनि प्रस्तुत गरे । यसमा पुटिनले रुसले तयार गरिरहेकोे एक ड्रोन देखाए जो पन्डुब्बीहरुबाट छोड्न सकिनेछ र जसले परमाणु हमला गर्न सक्षम हुनेछ ।

पुटिनले अगाडि बोल्दै भने – रुससँग रहेको मिसाइललाई यूरोप र एशिया भर छरिएर रहेको अमेरीकी प्रतिरक्षा प्रणालीले पनि रोक्न सक्दैन । पुटिनले रुसी संसदमा लगभग दुई घण्टासम्म सम्बोधन गरेका थिए ।

अमेरीकालाई दबाब
रुसी राष्ट्रपतिको भनाई अमेरीकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य तागत बढाउने बयानको जवाफ भएको समिक्षकको भनाइ रहेको छ । अमेरीकाले पछिल्लो महिना आफ्नो परमाणु भण्डारलाई बढाउने र सानो खालको आणविक बम बनाउने बयान दिएको थियो ।

अमेरीकाको सो भनाई कुनै न कुनै हिसाबले रुसलाई चुनौती दिन आएको मानिएको थियो । चीन र अमेरीका पनि संसारको जुनसुकै स्थानमा मार हान्न सक्ने यस्तो मिसाइल निर्माण गर्ने कोसिस गरिरहेका छन् ।

तर, पुटिनले आफ्नो भाषणमा रुसले आफ्नो सैन्य तागत संसारमा शान्ति स्थापनाको लागि सशक्त बनाएको प्रष्टिकरण दिए ।

अन्तयमा पुटिनले यो भन्न छुटाएनन् कि रुसबिरुद्ध यदी कसैले परमाणु हतियार प्रयोग गर्छ भने रुसले त्यसको जवाफ दुई गुणा शक्तिले दिनेछ ।

प्रतिक्रिया दिनुहोस