Safal Khabar - स्तनपानले आमाको शरीर सप्रिनुको साथै शिशुको दिमागी क्षमता तीक्ष्ण
बुधबार, २१ साउन २०७७ (Wednesday, 5 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
स्तनपान सप्ताह

स्तनपानले आमाको शरीर सप्रिनुको साथै शिशुको दिमागी क्षमता तीक्ष्ण
शनिबार, १७ साउन २०७७, ०९ : २९
स्तनपानले आमाको शरीर सप्रिनुको साथै शिशुको दिमागी क्षमता तीक्ष्ण

–नारायण अधिकारी 
चितवन । आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुने गर्दछ । आमाको दूध शिशुका लागि अमृत समान हुन्छ । चिकित्सकको भनाइमा स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ । बच्चा जन्मिएको एक घण्टाभित्रै आमाको दूध चुसाउनु पर्ने चिकित्सक बताउँछन् । वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौला आमाको पहेँलो बिगौती दूध नवजात शिशुका लागि पहिलो खोप हो भन्नुहुन्छ ।

उनले भने, “यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छन् ।” बच्चा जन्मिएपछि छ महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्छ । शिशुलाई चाहिने पानीसमेत आमाको दूधमा हुने भएकाले छ महिनासम्म आमाको दूधबाहेक पानी पनि खुवाउनु नपर्ने बसौलाको भनाइ छ । उनका अनुसार ८७ प्रतिशत पानी दूधमा हुन्छ । 

छ महिना पूरा भएपछि आमाको दूधको साथसाथै थप पोषिलो आहार खुवाउन उनको सुझाव छ । बसौलाले भने, “कम्तीमा दुई वर्षसम्म आमाको दूधलाई निरन्तरता दिँदै थप आहार खुवाउनु पर्छ ।” पूर्ण स्तनपानका फाइदाका बारेमा उनले थप्दै भने, “बच्चाको दिमागी क्षमता तीक्ष्ण हुन्छ ।” स्तनपान नगराइएका बच्चा झगडालु स्वभाव, अरुसँग घुलमिल नगर्ने र अपराधिक कार्यमा लाग्ने सम्भावना बढी हुने अनुसन्धानबाट पत्ता लागेको छ । 

Yeti Diistillery
Tansen Cement box

बोतल र त्यसको मुन्टा सजिलै फोहोर हुने हुनाले प्रयोग नगर्न चिकित्सकको सुझाव छ । नवजात शिशुलाई २४ घण्टामा १० देखि १२ पटकसम्म स्तनपान गराउनुपर्नेमा जोड दिदैं उनले भने, “चौबीस घण्टामा छदेखि आठ पटक बच्चाले पिसाब फेर्नु पर्छ । कम भएमा दूध नपुगेको हुन्छ । एकातिरको दूध निख्रिएपछि मात्र अर्को स्तनको दूध खुवाउन, आमा र बच्चा जो बिरामी भए पनि निरन्तर स्तनपान गराई रहनुपर्छ । 

नेपाल बाल चिकित्सक समाजका केन्द्रीय उपाध्यक्षसमेत रहेका बसौलाले बिगौती दूधले बच्चाको शरीरबाट ‘विलिरुविन’ नामक तत्वलाई निष्काशन गर्ने, जसले गर्दा जण्डिस हुन दिँदैन । बिगौती दूधमा प्रोटिन, भिटामिन ‘ए’ र अन्य सूक्ष्म पोषक तत्व बढी पाइन्छ । बिगौती दूधले बच्चालाई एलर्जी र अपच हुन दिँदैन । आमाको दूधमा झाडा र स्वासप्रश्वाससम्बन्धी सङ्क्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व हुने चिकित्सक बताउँछन् । यसैगरी आन्द्राको रक्षा र हानिकारक तत्वलाई रगतमा पुग्न नदिन आमाको दूध उपयोगी हुन्छ ।

दाँत र गिजाको विकास गर्न सहयोग पुग्छ भने बच्चाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न सहयोग पुग्ने बसौलाले बताए ।  आमाको दूधले बच्चालाई मात्र होइन दूध चुसाउने आमालाई पनि फाइदा पुग्दछ । भरतपुर अस्पतालका स्त्री, प्रसूति तथा प्रजनन रोग विशेषज्ञ वरिष्ठ कन्सल्टेन्ट डा रामप्रसाद सापकोटा बच्चाले स्तनपान गर्दा निस्कने हार्मोनले आमाको पाठेघर खुम्च्याउन मद्दत गर्ने बताए । उनका अनुसार बच्चा जन्मने बित्तिकै स्तनपान गराउँदा सालनाल सजिलो र छिटो बाहिर निस्कने हुँदा पाठेघरबाट बढी रगत बग्ने खतरा कम हुन्छ । 

बच्चा जन्मने बित्तिकै आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्ने चिकित्सक बताउँछन् । तुरुन्तै र पटकपटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुने सापकोटाको भनाइ छ । उहाँले थपे, “दूध चुसाउने आमा र बालबालिकाबीचको आत्मीयता बढ्छ र बच्चाले सुरक्षित महसुस गर्दछ ।” आमालाई मानसिक तनाव कम हुने हुँदा स्वस्थ महसुस गर्ने उनको भनाई छ । सुत्केरी भएपछि स्तनपान गराउनाले आमाको मोटोपन घट्नुका साथै पाठेघर खुम्चिएर पुरानै अवस्थामा फर्कने पनि उनले जानकारी दिए । 

सापकोटाका अनुसार बच्चा जन्मिएको पहिलो छ महिनासम्म पूर्ण स्तनपान गराएमा गर्भ निरोधकको रुपमा समेत काम गर्दछ । उनले भने, “महिलालाई हुने स्तन, डिम्बासय र पाठेघरसम्बन्धी क्यान्सरको समेत जोखिमसमेत कम गराउँछ ।” आमाको दूध सधैं सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ र खर्चिलो हुँदैन । आमाको दूध जुनसुकै बेला पनि खुवाउन सकिन्छ । कृत्रिम खालका खाना बनाउन लाग्ने समय, इन्धन खर्च र कामको भार कम हुन्छ ।  स्तनपानले प्रत्येक वर्ष विश्वमा करिब आठ लाख २३ हजार बच्चा बचाउने गरेको चिकित्सक बताउँछन् ।

संसारमा हरेक पाँच बच्चामध्ये दुई जना शिशुले मात्र छ महिनासम्म आमाको दूधमात्र खान पाउने तथ्याङ्कले देखाएको छ । हाल नेपालमा एक वर्षमा करिब सात लाख बच्चा जन्मने गरेको पाईएको छ । तीमध्ये ५७ प्रतिशत बच्चा मात्र स्वास्थ्य संस्थामा जन्मने गरेको बसौलाले जानकारी दिए ।  आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण ऐन २०४९ मा आमाको दूधको प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण गर्न नहुने उल्लेख छ ।

ऐनले यस्ता वस्तु बिक्री वितरण गर्ने, प्रचारप्रसार गर्ने र सिफारिस गर्ने स्वास्थ्यकर्मीलाई समेत कारवाही गर्न सकिने उल्लेख गरेको छ । जसमा सिफारिस गर्ने स्वास्थ्य कार्यकर्तालाई रु एक हजार जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय र वितरकलाई रु १५ हजार जरिवाना वा चार महिना कैद वा दुवै हुने व्यवस्था गरेको छ । छ महिनासम्म आमाको दूध मात्र खुवाउन र त्यसपछि आमाको दूधसँगै जाउलो, लिटो, दालको रसजस्ता वस्तु खुवाउन बसौलाको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस