बामदेव फकाउन यतिसम्म गरे ओलीले, कस्तो छ ओली–गौतम सम्बन्ध ?

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, ०९ : ४१
बामदेव फकाउन यतिसम्म गरे ओलीले, कस्तो छ ओली–गौतम सम्बन्ध ?

काठमाडौं । नेकपामा उपाध्यक्ष वामदेव गौतम मादल जस्तै भएका छन । कहिले केपी ओलीले उनैलाई अगाडी सार्छन, मादल बजाउँछन, कहिले प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले अगाडी सार्छन्, त्यसै गरी बजारहन्छन् । तर गौतमको पनि दुवैतिरको मोह टुट्न नसक्दा उनी आफैं विलखवन्दमा पर्न थालेका छन् । मंगलबार उनले फेरि एउटा प्रस्ताव सारे, जसले प्रधानमन्त्री ओलीलाई आफुमाथी आइपर्न लागेको संकट टार्ने एउटा हतियार मिल्यो । 

गौतमले अब ओलीलाई प्रतिनिधीसभाको बाँकी अवधीभर सरकारको नेतृत्व र पार्टीको महाधिवेशन सम्म अध्यक्ष दुवै पदमा कायमै राख्नुपर्ने र प्रचण्डलाई कार्यकारी अध्यक्ष सहितको जिम्मेवारी एकता महाधिवशेन सम्म दिनुपर्ने गरी ६ बुँदे प्रस्ताव अगाडी सारेका छन् ।

गौतमले मंगलबार बिहान यस्तो प्रस्ताव के अगाडी सारेका थिए, हम्मेसी, अरु नेतालाई भेट्न निवास नपुग्ने प्रधानमन्त्री ओली आफै श्रीमती राधिका शाक्य र महासचिव विष्णु पौडेल बोकेर रातीको डिनर गर्न गौतम निवास नै पुगिदिए । गौतमको यो प्रयासमा पर्दा पछाडीबाट महासचिव विष्णु पौडेल, कृषि मन्त्री घनश्याम भुषाल र पर्यटनमन्त्री योगेश भटटराई लगायतका नेताहरुको पनि भूमिका रहेको देखिन्छ । 

वामदेवलाई फकाउन यति सम्म गरे ओलीले..
गत वैशाखमै प्रधानमन्त्री ओलीमाथी सत्ता सकंट आईलागेको हो । पार्टी विभाजन गर्ने सम्मको अध्यादेश ओलीले ल्याएपछि १७ वैशाखमै ओलीको राजीनामा पार्टीभित्र माग भएको थियो । त्यसबेला पनि गौतमलाई आफुपछिको प्रधानमन्त्री ओलीले घोषणा गरिदिए । गौतमलाई आफुतिर तानेपछि ओलीको संकट त्यो बेला पनि टरेको थियो । खास सन्र्दभ पर्दा ओलीको संकट टार्ने र अन्य बेला प्रचण्ड नेपालसँग दोस्ती बढाउने उपाध्यक्ष गौतमको रणनीतिले नेकपाभित्रको विवादले बेलाबेला अनेक मोड लिन थालेको छ । 

मंगलबार बिहानै गौतमसँग महासचिव विष्णु पौडेलले भेट गरेका थिए । गौतमको भैसेपाटी निवास छेउमै बस्दै आएका महासचिव पौडेलले घरबाट निस्कँदा र फर्कदा गौतम निवासमा पसेर भेटघाट गर्ने काम गर्दै आएका थिए । यो पौडेलको दैनिकी थियो । वामदेव फकाउन ओलीले पौडेललाई अधिकतम प्रयोग गरेका थिए । गत असार १९ मा गौतमलाई बोकेर महासचिव पौडेल राष्ट्रपति भेट्न पुगेका थिए । पार्टीमा ओली पछिको उत्तराधिकारी बन्न, जनताको बहुदलीय जनवादको नेतृत्व गर्न उनीमाथी त्यहाँ राष्ट्रपति भण्डारी सम्मले वामदेवलाई आग्रह गरे ।

त्यक्ति मात्रै होइन, सोही साँझ फेरि उनलाई फकाउन इश्वर पोखरेल सहितका ओली पक्षका ११ नेता कार्यकर्ता वामदेव निवासै पुगेका थिए । गौतम निवासको ‘डिनर मिटिङ्’मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ र प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत ११ जना नेता थिए ।

गौतममाथी एक साथ सबै ओली पक्षका नेताहरु गएर आफुहरुको अभिभावक बनिदिन समेत आग्रह गरेका थिए । यसले पनि गौतमले ओलीतिर मन लगाएका थिए । त्यसमाथी ओलीले मंगलबार साँझ उनकै निवासमा पुगेर डिनर मिटिड गरेपछि नेकपाभित्र ओली वामदेव सम्बन्धको चर्चा फेरि एकपटक हुन थालेको छ । 

यस्तो छ वामदेव केपी सम्बन्ध 
केपी–बामदेव बीचको पहिलो भेट २०३४ सालमा भएको थियो । झापा आन्दोलन गर्दा ओली पक्राउ परेर काठमाडौंको सेन्ट्रल जेलको ‘गोलघर’मा थिए । वामदेव पनि पछि पक्राउ परे–२०३३ सालमा । उनी भैरहवा जेलबाट काठमाडौं सारिए । त्यसपछि नै हो–केपी र वामदेवका बीचमा पहिलो पल्ट भेट भएको । ‘केपीसँग मेरो पहिलोपल्ट भेट उहाँ जेल (सेन्ट्रल) को सेल (गोलघर) भित्र बसेको बेला भएको हो । मलाई पनि भैरहवाबाट सेन्ट्रल जेलमा ल्याइएपछि भएको हो’–पहिलो भेट सम्झदै बामदेवले एक अन्र्तवार्तामा भनेका थिए । 

केपी–वामदेव सेन्ट्रल जेलमा ७÷८ महिनामात्र सँगै रहे । एउटै जेलभित्र रहे पनि यी दुई नेताका बीचमा सधै भेटघाट भने हुदैनथ्यो । जेलभित्रको पनि जेल (जसलाई गोलघर पनि भनिन्छ) मा ओली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, क्याप्टेन यज्ञवहादुर थापा र भीम नारायण श्रेष्ठसँगै थिए । वामदेवलाई भने गोलघरमा राखिएको थिएन, उनी जेलको ‘सामान्य वार्ड’ मा थिए । तत्कालिन मुक्ति मोर्चाको राजनीति गर्दा बामदेव प्रक्राउ परेका थिए भने केपी, राधाकृष्णहरु झापा कोओर्डिनेसन केन्द्रको राजनीति गर्दा ।

केपी र वामदेवहरु सँगै त्यसबला जेलमा रहेका राधाकृष्ण (आरके) मैनाली सम्झन्छन्, –‘एउटै जेलभित्र रहेपनि वामदेवजी सामान्य वार्डमा र हामी केपी सहित गोलघरमा थियौं, जेलभित्रै सिधा–सिधा कुरा गर्न पाइदैनथ्यो, खाना खाने बेलामा देखभेट हुने र उभिएर कुराकानी हुन्थ्यो, धेरै जसो जेलभित्रै पनि हामीले चिट्टी आदान–प्रदान गरेर कुराकानी गथ्र्यौं ।’

मैनालीका अनुसार, त्यसबेला जेलभित्रै कुराकानी गर्नका लागि केपी–बामदेवहरुले तातोपानी राख्ने थर्मस, खानेकुरा लगायतमा प्रहरीको आखाँ छलेर चिट्टी आदान–प्रदान गर्थे । ओली त्यसबेला पनि बिरामी भएका कारण ख्याउटे थिए, उभिएर समेत कुराकानी गर्न सक्ने अवस्थामा थिएन् । ‘ओली जी छोटा –छोटा चिट्टी लेख्थे–वामदेवलाई ।

वामदेवले पनि चिट्टी पठाउँथे,’ मैनाली भन्छन्,–‘ अहिले पनि वामदेव फूर्तिलो देखिन्छन, झन त्यो बेला उहाँको फूर्तिलोपन धेरै नै थियो, उहाँ खोजीनीति गर्ने, उत्सुकता राख्ने स्वभावका हुनुहुन्थ्यो, सक्रिय थिए, त्यही भएर पनि हाम्रो राम्रो दोस्ती जमेको थियो ।’ ७–८ महिना केपी–वामदेव एउटै जेलमा रहेपछि बाक्लिएको सम्बन्ध प्रहरीलाई चित्त बुझेन् । उनीहरुको सम्बन्ध टुटाउनकै लागि बामदेवलाई दमौली जेलमा सरुवा गरियो । त्यसबेला ओली निरन्तर १४ वर्ष र गौतम २ वर्ष फरक–फरक जेलमा वसेका थिए ।

मिल्दो–जुल्दो स्वभाव
दुवैका स्वभाव र शैली धेरै मिल्दाजुल्दा देखिन्छन् । ओली र गौतम दुवै ‘हक्की’ स्वभावका छन् । विचार मिल्दै जाँदा दुवैले आफ्ना कुरा खुलस्त मात्रै राख्दैनन्, कतिपय बेला तत्कालै ‘बोल्ड डिसिजन’ गर्न पनि हिच्किचाउँदैनन् । कुनै बेला मदन भण्डारीले भन्ने गर्थे, –‘पार्टीको नेतृत्वमा वामदेव नभए पार्टी लुलो हुन्छ, मुख्य जिम्मेवारी नै वामदेवलाई दिए पार्टी धुलो हुन्छ ।’ सायद त्यही भएर पनि होला, पाखा लगाइएका गौतमलाई अहिले फेरि ओलीले रोजेका छन् । कुनै बेला मदनले भने जस्तै ओलीका लागि गौतम अहिले आवश्यकता बनेका छन् ।

ओलीका छोरा छोरी छैनन् । तर गौतमका २ छोरी र १ छोरा छन् । अध्ययनमा दुवै नेता खास धेरै पढेका छैनन् । दुवै एसएसली सरहको शिक्षा प्राप्त गरेका नेता हुन् । यी दुई नेताका विगत एकै ठाँउ बसेर सँगै रक्सी खाने देखि सँगै रुनेसम्मको छ । गौतम ओलीसँगको सम्बन्धलाई पारिवारिक सम्बन्धकै रुपमा एक अन्र्तवार्ताका क्रममा अथ्र्याएका थिए ।  ‘केपीसँग त पारिवारिक जस्तो सम्बन्ध भयो । एउटै परिवारको भइयो । एउटै परिवार भएपनि जोडकोणमा केही–केही फरक परिहाल्छ । केपीसँगको सम्बन्ध त्यस्तै हो ।’ गौतमले भनेका थिए ।

खटपट कम छैनन्
ओली–गौतमका बीचमा खटपट पनि कम छैनन् । महाकाली सन्धिका विषयमा तत्कालिन एमालेभित्र चर्काे विवाद भयो । २०५३ सालमा एकीकृत महाकाली सन्धिलाई सदनबाट पारित गर्ने÷नगर्नेमा एमाले दुई चिरा भयो । केपी, माधव नेपालहरु पारित गर्ने पक्षमा र वामदेव,  सिपि मैनालीहरु पारित गर्न नुहने पक्षमा कित्ताकाट भए । पार्टीमा यो विषयमा मत विभाजन नै भयो । एक मतले मात्र पारित गर्ने पक्षको जित भयो । त्यही कारण तत्कालिन एमाले विभाजन हुन पुग्यो ।  

तर त्यो पार्टी विभाजन लामो समय टिकेन् । २०५४ माघमा नेकपा माले गठन गर्न पुगेका वामदेव फेरि २०५८ फागुनमा मु्लघरमै फर्किए । गौतम मुल घरमा फर्किने बेलामा ओलीले पार्टीमा फरक मत राखेका थिए । २०६२ मा तत्कालिन विद्रोही माओवादीका अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई लगायत नेतासँग रोल्पामै पुगेर वामदेव र युवराज ज्ञवालीले तत्कालिन एमालेका तर्फबाट ‘६ बुँदे सम्झौता’ गरेका थिए । त्यो सहमति एमालेभित्र विवादमा प¥यो ।

वामदेवलाई पार्टीमा कारवाही नै गर्नुपर्ने प्रस्ताव केपी ओली र विष्णु पौडेलले राखेका थिए ।  पार्टीसँग सल्लाह नै नगरी हतियार उठाएको पार्टीसँग वामदेवहरुले सहमति गरी एमालेलाई समाप्त पार्न खोजेको ओलीको पार्टीमा तर्क थियो । विश्वभरका राजनीतिक पार्टी र देशले माओवादीलाई कसरी हेर्छन, अब आफुहरुलाई पनि त्यसैगरी हेर्ने भए भन्दै ओली र पौडेलले वामदेवलाई कारवाही गर्नुपर्ने प्रस्ताव पार्टीमा राखेका थिए ।

त्यही बेला पार्टीले बोलाएको कार्यकर्ता भेलामा पनि गौतममाथी कारवाहीको प्रस्ताव आयो । १४ वटा अञ्चल प्रतिनिधीको टिममध्ये झण्डै ९ ओटा टिमले गौतमलाई कारवाही गर्न माग गरेर भेलामा मत राखेका थिए । पछि पार्टी महासचिव माधव नेपालले नै आफुले गौतमलाइ्र्र माओवादीसँग वार्तामा पठाएको र आफुसँगैको सहमतिमा रोल्पा सम्झौता भएको बताएपछि गौतम त्यसबेला कारवाहीबाट बचेका थिए ।

तत्कालिन माओवादीलाई हेर्ने दृष्टिकोणमा गौतम माओवादीप्रति नरम र ओली गरम थिए । ओली माओवादीलाई ‘उग्रवामपन्थी’ भन्दै खरो आलोचना गर्थे । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री भएका बेला घटेको कटुवाल प्रकरण पछि माधव नेपाल प्रधानमन्त्री भए । तर माओवादीले नेपाल नेतृत्वको सरकारलाई ‘कठपुतली’ को संज्ञा दिदै आन्दोलन ग¥यो ।  माधव नेपाललाई सडकबाटै अपदस्थ गर्ने भन्दै माओवादीले त्यसबेला देशभरका नेता–कार्यकर्ता जमघट गराई काठमाडौंमा शक्ति प्रर्दशन समेत ग¥यो । त्यही बेला वामदेवले माधव नेपालले राजीनामा दिएर निकास दिनुपर्ने भन्दै ६० जना नेताहरुको  हस्ताक्षरसहितको ज्ञापन पार्टीका तत्कालिन अध्यक्ष झलनाथ खनाललाई बुझाएका थिए ।

तर, वामदेवले पार्टीमा बुझाएको त्यो ज्ञापनपत्र पार्टीमा दर्ता हुन नपाउँदै प्रचण्ड निवास र माओवादीको कार्यलयबाट सडकमा फोटोकपीका रुपमा बाँडिएपछि गौतम पार्टीमा थप आलोचित बनेका थिए । ओलीले त्यसबेला नेपाललाई दह्रो आड दिएका थिए । ओली–गौतम विवाद त्यसबेला पनि चर्काे परेको थियो । वामदेव निकट नेकपाका केन्द्रीय सदस्य बलराम बाँस्कोटको भनाईमा, ओली–गौतमबीचको सम्बन्ध कहिले काँही ठाकठुक देखिए पनि अन्र्तयमा भने सौहार्दतापूर्ण नै देखिदै आएको छ ।

‘सेन्ट्रल जेलमा चिनजानबाट शुरु भएको उहाँहरुको सम्बन्ध घटना विशेषका आधारमा उतारचढावपूर्ण नै देखिन्छ ।’ बाँस्कोटा भन्छन्,–‘आठौं महाधिवेशनमा वामदेव कमरेड झलनाथ खनालको पक्षमा उभिईदिए पछि केपी कमरेड पराजित हुनुभयो । नवौंमा फेरि दुवै नेता एक ठाउमै रहनुभयो, उहाँहरुको मिलनले नै केपी कमरेडलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता देखि प्रधानमन्त्री सम्म बन्ने अवसर मिलेको थियो ।’ नवौं महाधिवेशनका बेला केपी–वामदेव बीच भित्री सहमति बनेको थियो । माधव नेपालको विपक्षमा मोर्चाबन्दी गर्नेगरी काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउण्डेसनको कार्यालयमा ओली पक्षका नेता र वामदेव पक्षका नेताहरुबीच भद्र सहमति बनेको थियो । त्यसपछि संसदीय दलको चुनाव देखि पार्टीको नवौं महाधिवशेनसम्म केपी वामदेव एकै रथका सारथी बनेका थिए ।

गौशलाको त्यो भद्र सहमतिका बेला वामदेव गौतम पक्षबाट उनी सहित किरण गुरुङ, हरि पराजुली, बलराम बाँस्कोटा, दलबहादुर राना, केशवलाल श्रेष्ठ, रवीन्द्र अधिकारी लगायतका नेता र ओलीका तर्फबाट ओलीसहित अहिलेका राष्ट्रपति विद्या भण्डारी र विष्णु पौडेल लगायत नेताहरु सहभागी थिए । वामदेवले संसदीय दलको नेतामा झलनाथको साटो केपी ओलीलाई सघाउने, महाधिवशेनमा पार्टी अध्यक्षमा पनि ओलीलाई साथ दिने, ओलीले पार्टी अध्यक्ष बनेपछि बामदेवलाई संसदीय दलको नेताको जिम्मेवारी हस्तान्तरण गर्ने, ओली प्रधानमन्त्री बनेमा कार्यवाहक अध्यक्षको जिम्मा पनि वामदेवलाई नै दिने र त्यसपछिको महाधिवशेनमा गौतमलाई नेतृत्व हस्तान्तरण गर्ने गरी ओली र गौतमका बीचमा भद्र सहमति भएको नेताहरु बताउँछन् ।

त्यसबेला ओलीले गौतमलाई ‘एक व्यक्ति एक पद’ को कार्ड फ्याकेका थिए । सोही सहमति अनुसार ओली संसदीय दलको नेता बने, खनाल हारे । पार्टी अध्यक्ष पनि बने, प्रधानमन्त्री समेत पनि ओली बने । तर शुसिल कोइराला प्रधानमन्त्री भएका बेला उपप्रधान तथा गृहमन्त्रीको पद गौतमलाई दिलाउने बाहेक भद्र सहमतिमा ओली टिकेनन् । त्यसपछि भने ओलीसँग गौतमको सम्बन्ध चिसिएको थियो । गत प्रतिनिधीसभा चुनावमा एमाले–माओवादी गठबन्धनमा चुनाव लड्दा पनि गौतम बर्दियाबाट पराजित भए । आफ्नो हारमा पार्टीभित्रकै अन्र्तघात देखेका वामदेवले अन्र्तघातीलाई कारवाही नगरेको भन्दै ओलीसँग रिसाएका थिए ।

पार्टी एकतापछि उपयुक्त जिम्मेवारी नदिइएको, शक्तिशाली विकास प्राधिकरण गठन गरेर आफुलाई जिम्मेवारी दिन गरेको आग्रह समेत अस्वीकार गरेको, उपचुनाव मार्फत चुनाव लड्न खोज्दा पनि ओलीकै कारण आफुलाई बदनाम गर्न खोजिएको भन्दै वामदेवले सम्बन्ध नै पार लगाउन खोजेका थिए । २०७५ को पुसमा बसेको पार्टी स्थायी समिति बैठकमै गौतमले ‘एक ब्यक्ति एक पद’को कुरा उठाएर ओलीलाई एक रोज्न चुनौती दिएका थिए । पार्टीमा उनले फरक दस्तावेज नै लेखेका थिए । सरकारले काम गर्न नसकेको आरोप पनि लगाए ।

त्यसपछि भने ओली र गौतमको सम्बन्धमा निक्कै चिसोपना छाएको थियो । गौतम पार्टीका अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायत नेताहरुसँगको हिमचिममा जोडिए । प्रचण्ड, माधव नेपाल र गौतमका बीचमा छुटटै गोप्य सहमति समेत भएको चर्चा नेकपा भित्र चल्यो । त्यसपछि भने ओलीले वामदेवलाई फेरि फकाउन थालेका थिए । ओलीले गौतमको जन्मदिनमा बालुवाटारमा बोलाएर ‘केक’ काटेर सरप्राइज दिएनन मात्रै, त्यसपछि नियमित बालुवाटारमा निम्त्याएर डिनर गराउने सम्म पनि यो बीचमा भएका थिए । ओलीतिर कहिले त कहिले प्रचण्ड नेपाल तिर लाग्दा वामदेवले पनि फाइदा पाएका छन् । पार्टीमा उनलाई कँहा ब्यवस्थापन गर्ने भन्नेमै पनि नेकपा यो २६ महिनाको बीचमा धेरै पटक घुमेको छ । 

त्यही कारण उनले विधानमै ब्यवस्था नभएको उपाध्यक्ष पद विधान संसोधन गरेरै पाएका छन् । पार्टीको महत्वपूर्ण संगठन विभाग उनकै पोल्टामा छ । राष्ट्रिय सभामा मनोनित कोटामा पनि अहिले ओलीले लैजान तयार भएका छन् । राष्ट्रिय सभामा वामदेव लैजाने सचिवालयको यस अगाडीको निर्णयमा ओलीले नै निर्णय नमान्दा लफडा आएको थियो । अहलिे पनि गौतमलाई आफु पछिको उत्तराधिकारी देखि सबै खालको आश्वासन ओलीले दिएका छन् । यस हिसाबले हेर्दा गौतमलाई लाभैलाभ मात्र हात लागेको छ । ओलीको संकटमा वामदेवले नै साथ दिदै आए । ओलीको संकटमा जहिल्यै वामदेव सारथी बनेर निर्णायक क्षणमा उभिन पुग्दा ओलीको संकट टर्दै आएको छ । अहिले पनि परिदृश्य त्यस्तै देखा पर्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस