विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड ६४ लाख नाघ्यो

एजेन्सी

सोमबार, १२ साउन २०७७, १५ : ४०

जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा सोमबारसम्म एक करोड ६४ लाख ३२ हजार ११० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ५२ हजार ४३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जानकारी दिएको छ । 

सङ्क्रमितमध्ये हालसम्म  १ लाख ५६ हजार ५५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८३९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४९ हजार ८४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३७ लाख ४२ हजार ३६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३४ हजार २५६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५१ लाख २९ हजार ९०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ८ हजार ५९६ जनाको मृत्यु भएको छ ।
 
युरोपमा २७ लाख ८४ण् हजार ८४२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार ५३२ को मृत्यु भएको छ । एसिया ३९ लाख ५ हजार ४३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख ५० हजार ६२८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार ८०८ जनाको मृत्यु भएको छ । ओसियानामा १६ हजार ६६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८३ जनाको मृत्यु भएको छ ।  (रासस/एएफपी)