स्थायी समितिमा सदस्यहरु बाँडफाँड गर्दा प्रधानमन्त्री ओलीको हिसाब, आफु बहुमतमा रहेको आँकलन

ओली पक्षको दाबी : स्थायी समितिका ४४ मध्ये २५ नेताले प्रधानमन्त्रीको राजीनामा माग गर्नै सक्दैनन्, बहुमत सदस्य राजीनामाको पक्षमा छदैं छैनन्

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, ११ : २१
स्थायी समितिमा सदस्यहरु बाँडफाँड गर्दा प्रधानमन्त्री ओलीको हिसाब, आफु बहुमतमा रहेको आँकलन

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको संर्घष पेचिलो बन्दै जाँदा अब के होला ? पार्टी नेता कार्यकर्ता मात्र होइन, इतर पार्टीमा पनि चासो बढेको छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) का बीचमा सहमतिको सम्भावना टाढिदै गएपछि भोली बोलाईएको स्थायी समिति बैठक अगाडी बढाउने योजनामा प्रचण्ड र माधव नेपाल पक्ष तम्तयार छन् । 

सकभर स्थायी समितिलाई पन्छाउने, बैठक नै बस्न परे फेरि सचिवालय तिर नै फर्काउने र पार्टीभित्रको आफनो सत्ता संकट टार्ने रणनीतिमा लागेको ओली पक्ष केही सिप नै नलागे स्थायी समितिमा पनि फेस गरेर जाने रणनीतिमा लागेको देखिन्छ । ९ साउनमा प्रचण्डसँगको सम्वाद बिग्रेपछि र झन सम्वाद विवादमै अल्झेपछि ओलीले विगत तीन दिन यता बालुवाटारमा गरेको प्रयास स्थायी समितिमै आफ्नो राजीनामा माग गर्ने नेताहरुको बहुमत पुग्न नदिने अस्त्रतिर केन्द्रीत देखिएको छ ।

यसका लागि उनले बालुवाटारमै आफु इतर खेमामा रहन सक्ने प्रचण्ड र नेपालले आफ्नो समुहका नेता भनी ठानेका नेताहरुलाई सक्दा आफ्नै पक्षमा तान्ने, नभएपनि राजीनामा माग गर्ने नसक्ने गरी न्यटीलाइज गर्ने योजना बनाएका छन् । तीन दिन यताको गृहकार्यबाट ओली पक्ष स्थायी समितिमा ४४ सदस्यमध्ये बहुमत २५ नेता अब प्रधानमन्त्रीको राजीनामा माग गर्न नसक्ने अवस्थामा हुने विश्लेषणमा पुगेको छ । प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार, ओलीले गरेको हिसावमा २५ नेता अब आफ्नो राजीनामा माग गर्न नसक्ने अवस्थामा पुगेको ठम्याईमा पुगिसकेका छन् । 

यस्तो छ ओलीको हिसाब किताब

९ सदस्यीय सचिवालयमा :
नेकपाको सचिवालय ९ सदस्यीय छ । सचिवालयमा आफु (प्रधानमन्त्री), इश्वर पोखरेल र विष्णु पौडेल ओलीको प्रष्ट पक्षमा छन् । उपाध्यक्ष  वामदेव गौतम र गृहमन्त्री समेत रहेका रामबहादुर थापा (बादल) लाई सक्दा आफुतिरै तान्ने नभए पनि न्यूटीलाइज गरेर राजीनामा माग गर्न रोक्ने, आलोचना गर्नबाट रोक्ने योजनामा ओली छन् । त्यसमा उनी करिब सफल भएको बुझाईमा ओली देखिन्छन् । बादल मन्त्री भएकोले आफै रहेको सरकार र आफ्नै प्रधानमन्त्रीको राजीनामा माग गर्ने नसक्नेमा ओली ढुक्क देखिएका छन् ।

उपाध्यक्ष वामदेव गौतम पनि अहिले तत्काल आफ्नो राजीनाको पक्षमा छैनन् भन्नेमा ओली देखिन्छन् । गौतमले ओलीको कार्यशैली सही नभएपनि अहिले तत्काल राजीनामा माग गर्दा सन्देश नराम्रो जाने भएकोले समय लिनुपर्ने माग प्रचण्ड र माधव नेपालसँग गरिरहेकोले पनि गौतमलाई न्यूटीलाइज गर्न सकिने वालुवाटारले बताएको छ । त्यस अतिरिक्त गौतमलाई फकाउन ओलीले अनेक अस्त्र पनि प्रयोग गरिनै रहेका छन् ।

त्यसका लागि उनले गौतम निवास भैंसेपाटीमा आफु निकट नेताहरु पठाएर छलफल चलाईरहेका छन् । हिजो मात्रै पनि विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ लगायत आफु निकट नेताहरुलाई गौतमलाई फकाउन भैंसेपाटी पठाएका थिए ।  त्यसो हँुदा सचिवालयमा सकभर ५ जना आफुतिर र ४ जना मात्र (प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ)  आफनो इतर समुहमा रहन दिने रणनीतिमा ओली देखिन्छन् । 

सचिवालय बाहेकका ३५ स्थायी समितिमा :
सचिवालयका ९ बाहेक नेकपाको स्थायी समितिमा थप अन्य ३५ जना नेता छन् । विधानतः ४५ सदस्यीय स्थायी समिति सदस्य भएपनि अग्नि सापकोटा सभामुख बनेपछि एउटा पद रिक्त छ । अहिले ४४ नेता स्थायी समितिमा छन् । सचिवालयका ९ बाहेक स्थायी समितिका ३५ मध्ये किरण गुरुड, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुड, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवास नेम्वाड गरी ९ जना नेता ओली समुहमा छन् ।

पूर्व माओवादी धारबाट स्थायी समिति सदस्य रहेका र अहिले उद्योग मन्त्री रहेका लेखराज भट्टलाई पनि ओलीले आफ्नो पक्षमा  तानिईसकेका छन् । भट्टसहित ३५ मा १० जना स्थायी समिति सदस्य आफ्नो पक्षमा रहेको ओली पक्षको भनाई छ ।  बाँकी नेताहरुलाई पनि सकेसम्म आफुतिर तान्ने र नभएपनि आफ्नो राजीनामा माग गर्ने नसक्ने अवस्थामा पु¥याउन ओली अहिले लागिरहेका छन् । बालुवाटार स्रोतका अनुसार, त्यसैक्रममा पूर्व एमाले धारमा माधव नेपाल समुहमा रहेका मन्त्री योगेश भट्टराईलाई ओलीले न्यूटलाइज गरिसकेको छन् । उनी विरोधमा आउनै सक्दैनन् । न राजीनामा माग गर्छन् । उल्टै भट्टराईले दुई अध्यक्ष मिल्न दबाब दिन्छन् । ओलीको रक्षाकवच बनेरै उभिन्छन् भन्नेमा बालुवाटार पुगेको छ । 

अन्य मन्त्री रहेका नेताहरुमा शक्ति बस्नेत,  वर्षमान पुन,  घनश्याम भुषाल, गिरिराजमणि पोखरेललाई सरकारको आलोचनामा आउनबाट रोक्ने उनको दोश्रो योजना देखिन्छ । मन्त्री रहेकै कारण पनि उनीहरुले विरोध गर्ने सम्भावना नरहेको बालुवाटारको बुझाई छ । मन्त्रीहरुले यो विवादमा खेलेको दोहोरो भूमिकाले पनि ओली पक्षलाई थप केही बल पुगेको देखिन्छ । 

यसो गर्दा ३५ मा आफ्नो पक्षका १० र मन्त्री रहेका ५ गरी कुल १५ जना स्थायी समिति सदस्यहरु आफुले नेतृत्व गरेको सरकारको विपक्षमा आउदैनन् भन्ने ओलीमा विश्वास देखिन्छ । उनले गत शुक्रवार देखि मन्त्रीहरुलाई बोलाएर गरेको छलफलले पनि त्यसैका लागि गृहकार्य गरेको देखाउँछ । उनले योगेश भटटराई, घनश्याम भुषाल र वर्षमान पुनसँग छलफल गरिसकेका छन् । 

त्यसअतिरिक्त ओलीले तेश्रो रणनीति पनि प्रयोग गरेका छन्, त्यो हो पूर्व माओवादी धारका नेताहरुलाई पनि सक्दो आफुतिर तान्ने नभएपनि न्यूटलाइज गर्ने र राजीनामा मागबाट पछाडी हटाउने । यसका लागि उनले प्रयास गरिरहेका छन् । केही सफलता पनि उनले पाएको बालुवाटार स्रोतको दाबी छ ।  

जर्नादन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापा र हरिबोल गजुरेललाई उनले पहिलो चरणमा फकाउने रणनीति बनाएका छन् । यी नेताहरुलाई करिव न्यूटलाइज गरिसकेको ओली पक्षको दाबी छ । बालुवटार स्रोतका अनुसार, यी ५ नेतालाई आफ्नो विपक्षमा बोल्न रोक्ने योजना ओलीको देखिन्छ । यसरी हेर्दा स्थायी समितिका ३५ मध्ये आफ्ना पक्षका १०, मन्त्री रहेका ५ र पूर्व माओवादी धारका ५ गरी २० नेता आफनो राजीनामा माग गर्ने गरी जान नसक्ने बुझाईमा ओली देखिन्छन् । 

पूर्व माओवादी धारका टापेबहादुर रायमाझी र मणि थापाले प्रधानमन्त्रीको राजीनामाको विषय नै अब सकिईसकेको बताईसकेका छन् । जर्नादन शर्मा ओली र प्रचण्ड बीच कसरी मिलाउने भन्नेमा महासचिव विष्णु पौडेलसँगै गुप्त बैठकहरुमा लागेको लाग्यै छन् । हरिबोल गजुरेल प्रधानमन्त्रीमा ओलीलाई कायम गरेर प्रचण्डको कार्यकारी भूमिका प्रष्टाउनु पर्ने मत ब्यक्त गर्न थालेका छन् । देवेन्द्र पौडेल पनि यही ५ नेताहरुकै धारमा रहेको बुझाई बालुवाटारमा छ । 
यसो गर्दा स्थायी समितिमा रहेका ३५ मा १५ नेता विपक्षमा हुन सक्ने ओलीको बुझाई देखिन्छ ।

त्यसभित्र पनि पार्टी विभाजनको भयका कारण केही नेताहरु आफ्नो राजीनामाको पक्षमा नलाग्ने विश्वास ओलीले लिएका छन् ।  लागि हालेपनि १५ जना स्थायी समिति र सचिवालयका ४ गरी १९ जना मात्रै आफनो राजीनामाको पक्षमा लाग्न सक्ने तर २५ जना बहुमत नेता आफनो राजीनामाको पक्षमा नरहने हुदा स्थायी समिति पनि फेस गरेर जान सकिने राणनीतिमा ओली लागेको प्रधानमन्त्री ओलीका एक नीजि सचिवालयका सदस्यले सफलखबरलाई बताए । 

प्रतिक्रिया दिनुहोस