चितवनमा बन्दाबन्दीका बेला दुर्घटनामा कमी, राजस्व सङ्कलन प्रभावित

सूर्यप्रकाश कँडेल

शनिबार, १० साउन २०७७, १३ : ३२
चितवनमा बन्दाबन्दीका बेला दुर्घटनामा कमी, राजस्व सङ्कलन प्रभावित

फाइल फोटो

चितवन । सरकारले देशभर लगाएको बन्दाबन्दीका बेला चितवनमा सवारी दुर्घटनामा कमी आएको छ भने दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पनि घटेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार २०७६ चैतदेखि २०७७ असार मसान्तभित्र भएका ५० वटा सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । २०७५ चैतदेखि २०७६ असार मसान्तसम्म ८९ वटा सवारी दुर्घटनामा ३६ जनाले ज्यान गुमाएका छन् ।

गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाभित्र कुल दुई सय ६१ वटा दुर्घटना हुँदा एक सय सात जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा दुई सय ९५ दुर्घटनामा एक सय ४६ जनाले ज्यान गुमाएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट बन्दाबन्दीका बेला सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य अत्यावश्यकबाहेकका सवारी साधन नगुडेको कारण दुर्घटना र दुर्घटनाबाट हुने मृत्युमा कमी आएको बताउँछन् । बन्दाबन्दीले गर्दा सवारी कारबाही र राजस्व सङ्कलन समेत प्रभावित भएको उनले जानकारी दिए ।

राजस्व सङ्कलन प्रभावित

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन जिल्लामा सवारी कारबाही सङ्ख्या र सङ्कलित राजस्व रकम घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३० हजार आठ सय ५९ जना सवारी चालकलाई कारबाही गर्दा दुई करोड ३१ लाख ४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ४० हजार २९ जना सवारी चालकलाई कारबाही गर्दा तीन करोड, सात लाख ६६ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ७६ लाख ६२ हजार पाँच सय रुपैयाँ कम राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको अन्तिम चौमासिकमा चार हजार दुई सय ९८ सवारी कारबाहीबाट ३३ लाख २३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षको अन्तिम चौमासिकमा १३ हजार ६ सय ७९ सवारी कारबाहीबाट एक करोड नौ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस