चितवनमा बाढी पहिरोमा परी एक बेपत्ता

रासस

सोमबार, ०५ साउन २०७७, २० : २३
चितवनमा बाढी पहिरोमा परी एक बेपत्ता

फाइल फोटो

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरामा परी जिल्लामा एक जना बेपत्ता भएका छन् भने तीन घर बगाएको र दर्जनौँ घर डुबानमा परेका छन् । खैरहनी नगरपालिका–११ का अन्दाजी ३० वर्षीय राजु बोटेलाई राप्ती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई आज साँझ ६ः१० बजेको समयमा नदीले बगाएपछि खोजी कार्य जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार त्रिशुली नदी बढेर ईच्छाकामना गाउँपालिकाको फिस्लिङमा तीन घर बगेका छन् । त्यहाँ कुनै मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो । 

नारायणी नदी बढेसँगै भरतपुर महानगरपालिका वडा नं. २६ र १६ मा डुबान भएको छ । उहाँका अनुसार वडा नं. २६ का ३० घरका र १६ का १४ घरका बासिन्दालाई स्थानान्तरण गरिएको छ । नदीको बहाव बढ्दै गएकाले सतर्क रहन स्थानीय प्रशासनले आह्वान गरेको छ । 

नारायणी नदी किनारमा अनाथालय हाम्रो घरको आँगनसम्म पानीको बहाव आइपुगेको छ । पानी बढेमा त्यहाँ रहेका ३० जना आश्रितलाई अन्यत्र सारिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताउनुभयो । नारायणी नदीको सतह सतर्कताको सूचीभन्दा माथि रहेको छ ।