कोरोनाका कारण चितवनमा राजस्वमा भारी गिरावट, लक्ष्यको तुलनामा १९ अर्ब कम संकलन

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १६ : २४
कोरोनाका कारण चितवनमा राजस्वमा भारी गिरावट, लक्ष्यको तुलनामा १९ अर्ब कम संकलन

चितवन । कोरोना भाइरसका कारण चितवनमा राजस्व संकलनमा भारी गिरावट आएको छ । आर्थिक वर्ष २०७६ र ०७७ मा आन्तरिक राजस्व कार्यालय, भरतपुरले वार्षिक राजस्व संकलन लक्ष्यको तुलनामा १९ अर्बले कमी भएको जनाएको छ । 

राजस्व विभागले यस वर्ष उक्त कार्यालयलाई ४३ अर्ब ३८ करोड ७७ लाख लक्ष्य दिएको थियो । आन्तरिक राजस्व कार्यालय चितवनका सूचना अधिकारी कपिलराज नेपालले कोरोनाको कहरले राजस्व लक्ष्यको तुलनामा कमी आएको बताए । उनका अनुसार यस वर्ष लक्ष्यको तुलनामा ५६ प्रतिशतमात्र राजस्व संकलन भएको छ । लक्ष्यको तुलनामा ४४ प्रतिशत अर्थात् १९ अर्ब राजस्व गुमेको छ । 

यस वर्ष कार्यालयले रू २४ अर्ब ३७ करोड ८० लाख १६ हजार राजस्व असुली गरेको छ । उक्त असुली लक्ष्यभन्दा झण्डै आधा कम हो । लामो समय भएको लकडाउनका कारण अधिकांश व्यापारिक प्रतिष्ठानहरु बन्द रहेको र आर्थिक गतिविधिसमेत ठप्प हुँदा राजस्वमा गिरावट आएको कार्यालय प्रमुख सुबप्रसाद रिजालले जानकारी दिए । 

उनका अनुसार लकडाउनका कारण सबै आर्थिक क्षेत्र प्रभावित भएकोले राजस्व असुली प्रभावित भएको हो। ‘कोरोनाको कहरले देशमा लकडाउन भयो, जसका कारण सबै उद्योग व्यवसाय बन्द पनि भए’, उनले भने ।  

कार्यालयको सबैभन्दा बढी राजस्व संकलन अन्तः शुल्कबाट हुने गरेको छ । मदिराजन्य तथा सूर्तीजन्य उत्पादन  विक्री निकै घटेका कारण लक्ष्य अनुसार कर असुली नभएको उनको भनाइ छ । गत वर्ष लक्ष्यको तुलनामा बढी राजस्व संकन भए पनि यस पटक लकडाउनले लक्ष्यको आधाआधीको हाराहारीमा राजस्व संकलन भएको कार्यलयका सूचना अधिकारी नेपाल बताउँछन् ।

सबैभन्दा बढी राजस्व संकलन अन्त शुल्क बाट भएको छ भने सबैभन्दा कम शिक्षा सेवा शुल्कबाट भएको छ । विभागले आन्तरिक राजस्व कार्यालय भरतपुरलाई अन्तःशुल्कमा रू३७ अर्ब ९४ करोड ४३ लाख ८८ हजार लक्ष्य दिएको थियो । १९ अर्ब ८६ करोड १२ लाख ९ हजार राजस्व संकलन भएको छ । 

यस्तै शिक्षा सेवा शुल्कबाट गतबर्ष रू २ लाख ४७ हजार मात्र असुली भएको छ । उक्त शिर्षकमा विभागले १ करोड ३७ लाख ४३ हजार को लक्ष्य दिएको थियो । लकडाउन अवधिमा मदिराजन्य उत्पादनका साथै विक्री वितरण पनि सहज नभएकोले अन्त शुल्कको राजस्व असुली घटेको हो ।  

 कार्यालयलाई आयकरतर्फ रू ३३ अर्ब ३९ करोड ७५ लाख लक्ष्य दिएकोमा २४ अर्ब २० लाख संकलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । जसअनुसार विभागले रू २ अर्ब ८ करोड ८४ लाख ९८ लाख १९ हजार राजस्व संकलन लक्ष्य दिइएकोमा  सो वर्ष रू २ अर्ब ९ करोड ८४ लाख ८६ हजार राजस्व संकलन गरेको छ । 

ब्याजकरबाट गतवर्ष कार्यालयले रू १४ करोड ९० लाख ९५ हजार राजस्व असुली गरेको छ । उक्त शिर्षकमा विभागले  रू १८ करोड १० लाख ८३ हजार राजस्व असुली लक्ष्य दिएको थियो । घरबहाल कर शिर्षकमा कार्यालयले रू ५ करोड ७९ लाख ५० हजार राजस्व असुल गरेको छ ।

उक्त शिर्षकमा रू ९ करोड ३९ लाख २३ हजार लक्ष्य दिइएको थियो । यस्तै स्वास्थ्य सेवा करबाट कार्यलयले रू १ करोड ७८ लाख ६८ हजार राजस्व संकलन गरेको छ । उक्त शिर्षकमा  भने कुनैपनि लक्ष्य नदिएको दिइएको थिएन । कोरोनाका कारणले यस पटक राजस्व संकलनमा भारी गिरावट आएको आन्तरिक राजस्व कार्यालय जनाएको छ । सूचना अधिकारी नेपालका अनुसार कार्यालयले अब अब बक्यौता असुलीतर्फ लाग्ने, नियमित बजार अनुगमन गर्ने, चुहावट नियन्त्रण गर्नलगायतका काममा जोड दिइन्छ ।