लकडाउनको चार महिनामा ३० करोड बढी गुमायो मनकामना दर्शनले, तत्काल सञ्चालनमा नआए अवस्था जटिल बन्ने निर्देशक श्रेष्ठको चेतावनी

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०७७, १३ : ४९
लकडाउनको चार महिनामा ३० करोड बढी गुमायो मनकामना दर्शनले, तत्काल सञ्चालनमा नआए अवस्था जटिल बन्ने निर्देशक श्रेष्ठको चेतावनी

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको लकडाउनको अवधिमा नेपालको पहिलो केवलकार मनकामनाले ३० करोड आम्दानी गुमाइसकेको छ ।

२२ वर्षको अवधिमा मर्मतका लागि वाहेक यो केवलकार बन्द भएको थिएन् । तर कोरोनाका कारण चार महिना बन्द भइसकेको छ। र, अझै कहिले खुल्ने टुंगो छैन । सरकारले सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात जिल्लाभित्र संचालनमा ल्याउन दिएको छ । विद्यालय, होटल, मल र सिनेमा हल वाहेक अरु उद्योग व्यवसाय संचालनमा आइसकेको छ ।

मनकामना केवलकारका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गरेर केवलकार संचालनमा ल्याउनुपर्ने बताउँछन् । ‘कोरोना उपचारका लागि तत्कालै भ्याक्सिन आउने देखिँदैन्। अब भएका उद्योग व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर संचालनमा ल्याउन दिनुपर्छ,’ उनले भने, ‘साउनभित्र संचालनमा ल्याउने वातावरण नभए ठूलो समस्या आउने देख्छु ।’

उनका अनुसार पछिल्लो समयमा संक्रमित भन्दा ठीक भएर फर्किनेको संख्या बढेकोले समेत स्वास्थ्य सुरक्षामा चेतना बढ्दै गएको छ । श्रेष्ठले चार महिनाको अवधिमा कर्मचारीलाई दैनिक आवश्यकता हेरेर पैसा दिएको जानकारी दिए । उनका अनुसार कुनै खराबी आउन नदिन साताको दुई दिन गोन्डोला घुमाउँदै आएको छ ।

व्यवसाय संचालनमा ल्याउन कम्पनीले गत जेठमा आफ्नै स्ट्यान्डर्ड अपरेसन प्रोसिड्योर तयार गरिसकेको उनले बताए । कम्पनीले केबुलकार प्रयोगदेखि अन्त्य सम्मका लागि निर्देशिका तयार गरिसकेको जनाएको छ ।

मनकामना मन्दिर परिसरमा स्वास्थ्य सुरक्षा व्यवस्थित बनाउन मनकामना क्षेत्र विकास समितिले निर्देशिका तयार पारिसकेको उनले बताए ।

कम्पनीले अब सेवा थाल्दा सुरुवाती दिनमा ५० प्रतिशतका दरले यात्रुलाई सेवा दिने श्रेष्ठले बताए ।   स्यानिटाइजेसन, ह्याण्ड वास, डिस इन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फ्रन्ट लाइन वर्करलाई पीपीइ, फेस सिल्ड लगायतको व्यवस्थापन गरेको उनले बताए । आउने जाने दुवै क्षेत्रमा आवश्यक परेमा आइसोलेसनको व्यवस्था गर्ने श्रेष्ठले बताए ।

हालको अवस्था सामान्य नभएसम्म बलि दिने जनाबर केबलकारमार्फत नबोक्ने निर्णय गरेको छ । दुरी कायम अनुसार दर्शनार्थीलाई मन्दिरको मुख्य ढोका बाहिरैबाट पुजाआजा गर्न दिइने उनले बताए । 

प्रतिक्रिया दिनुहोस