स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको हाबी कायमै

एजेन्सी

सोमबार, २२ असार २०७७, ०९ : ३१
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको हाबी कायमै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधिको होडमा रियल मड्रिड  थप नजिक पुगेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओमाथि १–० को जित निकाल्दै रियल मड्रिड उपाधिको थप नजिक पुगेको हो ।

अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन सर्जिओ रामोसले ७३ औँ मिनेटमा पाएको पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । रामोसले लगातार दुई खेलमा रियल मड्रिडलाई एक गोल गरेर जिताएका छन् ।यसअघि गएको मंगलबार भएको खेलमा पनि रामोसले पेनाल्टी मार्फत गोल गरी गेटाफेलाई पराजित गरेका थिए।डानी गार्सियाले मार्सेलोलाई फउल गरेपछि पाएको पेनाल्टीमा रामोसले गोल गरेका हुन् । कोरोना भाइरसको महामारीपछि सुरु भएको ला लिगाका सात खेलमा रामोसले पाँच गोल गरेका छन् ।

जिनेदिन जिदानको टिमलाई उपाधिका लागि अब बाँकी चार मध्ये तीन खेलमा जित चाहिन्छ । शीर्ष स्थानको रियल मड्रिडको ३४ खेलबाट ७७ अंक भएको छ ।दोस्रो स्थानको बार्सिलोनाको चार अंक कम ७३ अंक रहेको छ । रियल मड्रिडसँग पराजित भएको एथ्लेटिको बिल्बाओ ३४ खेलबाट ४८ अंकसहित आठौँ स्थानमा छ । ला लिगा अन्तर्गत आइतबार राति भएका अरु खेलमा लेगानेसले स्पानियोललाई १–० ले पराजित गरेको छ भने ओसासुना र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

प्रतिक्रिया दिनुहोस