Safal Khabar - आफ्नो शरिरको रोग–प्रतिरोध क्षमता यसरी बढाउनुहोस....
बुधबार, २१ साउन २०७७ (Wednesday, 5 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
आफ्नो शरिरको रोग–प्रतिरोध क्षमता यसरी बढाउनुहोस....
आइतबार, २१ असार २०७७, ०८ : २४
आफ्नो शरिरको रोग–प्रतिरोध क्षमता यसरी बढाउनुहोस....

काठमाडौं । संसारै कोरोनाको संकटबाट गुज्रिरहेको छ । यसपटक मात्र हैन, पटक–पटक पृथ्वीमा विभिन्न थरीका महामारीहरु फैलिएको र लाखौं मानिसको ज्यान गएको थियो । मानिसको शरीर आफैँले गर्ने आत्मसुरक्षा र उसले अपनाउने उपचार विधिमा मानव स्वास्थ्यको अवस्था निर्भर रहन्छ । कुनै पनि रोग लाग्न नदिन र लागिहालेमा योग र प्राकृतिक चिकित्सा विधिद्वारा शरीरको आत्मसुरक्षा प्रणाली (जीवनीशक्ति) लाई बलियो बनाउन गर्न सकिने विधिबारे यस लेखमा चर्चा गर्न प्रयास गरिएको छ ।

प्राकृतिक चिकित्साका तीन प्रमुख सिद्धान्तहरु

कारण र उपचारमा एकात्मकता :
रोगको मुख्य कारण अप्राकृतिक व्यवहारहरु जस्तै– गलत आचरण,आहार, विहार र विचारहरुबाट शरीर तथा मनमा विजातीय द्रव्य वा विकारको वृद्धि हुनु हो । ती तत्वहरुको सफाइ गरी शरीर तथा मनलाई निर्मल पार्नु नै रोगको वास्तविक उपचार हो । रोगको कारक तत्वकीटाणुहरु फोहोर वातावरणमा जन्मन्छन्, हुर्कन्छन् र बढ्छन् वा बाहिरबाट प्रवेश गर्छन् ।

Yeti Diistillery
Tansen Cement box

प्राकृतिक चिकित्सामा कुनै एक रोगलाई मात्र ध्यान नदिई पूरा शरीरकै उपचार एकसाथ गरिन्छ । रोग लागेको अवस्थामा मात्र होइन प्राकृतिक चिकित्सा एउटा जीवनशैलीको विज्ञान पनि हो । यसका विधिहरुलाई स्वस्थ अवस्थामा प्रयोग गर्दा शरीरको सर्भिसिङ र मर्मत भैरहने हुँदा अंगप्रत्यंगमा भएका विकार हटेर निर्विषीकरणको पनि भूमिका खेल्ने हुँदा शरीरका हरेक प्रणालीहरु बलियो हुन पाउँछ ।

प्रतिरोधक शक्तिले उपचार :
रोग प्रतिरोधी शक्ति, जीवन सञ्चालन गर्ने प्रकृतिको चैतन्यशक्ति र प्राण एवं विविध ऊर्जा मिलेर जीवनीशक्ति पूर्ण हुन्छ । प्रकृतिले जीवलाई सुरक्षाको कवच दिएको हुन्छ । शरीर आफैं डाक्टर हो । मानिसमा पनि शरीरभित्रै यस्ता कोशिका, तन्तु एवं अंगहरुको समूह छ जसलाई प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) भनिन्छ ।

यसले शरीरमा कुनै कीटाणु जन्मेमा वा प्रवेश गरेमा त्यसलाई नष्ट गर्ने वा विकारहरुलाई बाहिर निकाल्ने काम गर्दछ । उदाहरणको लागि प्रतिरक्षा कोशिका (श्वेत रक्तकोशिका वा लिम्फोसाइट) अस्थिमज्जा, थाइमस, लिम्फनोड, लिम्फेटिक तन्तुहरु, लिम्फबाहिनी, फियो (स्प्लिन), टन्सिल, पेट तथा शरीरको अरुतिर भएका श्लैष्मिक झिल्लीमा अवस्थित विशेष तन्तुहरु प्रतिरक्षाप्रणालीका भागहरु हुन् । लिम्फ ग्रन्थिहरु सेनाका हेडक्वाटर, लिम्फ नोड चेकपोस्ट र लिम्फोसाइट सेनाहरुजस्ता हुन् । जसले मिलेर शरीरमा पस्ने कीटाणु, जीवाणुहरुलाई मार्ने काम गर्छन् । शरीरमा हाड भाँचिए आफैं जोड्ने र घाउ भए आफैं निको पार्ने क्षमता राख्छ ।

यसरी नै शरीरमा यस्ता रसायन तथा अम्लहरु पनि हुन्छन्, जसले विकार तथा कीटाणुहरुलाई नष्ट गर्ने काम गर्छन् । शरीरको मात्र हैन, मनको विकार निकाल्न, मन आनन्द पार्न र मानसिक शान्ति प्राप्त गर्ने न्यूरो रसायन तत्वलगायत आवश्यक विधिहरु पनि शरीरभित्रै विद्यमान छन् । अभ्यासबाट तिनलाई जगाउन मात्र आवश्यक छ ।

शरीर स्वच्छ राख्ने अभियान :
शरीरमा कुनै समस्या भयो भने दुख्ने, पोल्ने, सुन्निने, झमझमाउने, चिसो हुने आदि लक्षणहरु उत्पन्न हुन्छन्, जुन शरीरले रोग लाग्यो है भन्ने सूचना गरेको अवस्था हो । यसरी नै संक्रमणमा ज्वरो आउने गर्दछ, जुन शरीरले रोगविरुद्ध लड्दै गरेको चरम अवस्था हो ।साथै रुघा, पखाला, पसिना निकाल्ने खालका तीव्ररोगहरु शरीरले आन्तरिक स्वच्छता कायम गर्ने अभियान हो । शरीरको स्वच्छता अभियानमा आफूले पनि सहयोग गर्नुपर्छ ।

रोग–प्रतिरोध क्षमता वृद्धिमा प्राकृतिक चिकित्साका केही प्रयोगहरु

माटो चिकित्सा : पेटमा गरिने माटोपट्टीले पेटको विकार कम गर्न मद्दत गर्छ । निधार, टाउको र मेरुदण्डमा प्रयोग गरिने माटोपट्टीले तनाव कम गर्छ, एकाग्रता बढाउँछ र निद्रालाई सुधार्छ । माटोको लेपन, मड बाथ र पूरा शरीरको माटो स्नानले नशा, छालालगायतका भागलाई सक्रिय पारी विकार निष्कासन एवं रक्तसञ्चार बढाउँछ ।

यसबाट प्रतिरोधक क्षमता वृद्धि हुन्छ । माटोको स्पर्शमा काम गर्ने, हिँड्ने, माटोको फोहोर चलाउँदासमेत क्रमिकरुपले हाम्रो शरीरमा माटोको सम्पर्कमा आउने कीटाणुहरुसँग बच्न शरीरले एन्टिबडी बनाउन थाल्छ । यसरी नै अर्गानिक खेतबाट उत्पादित विषादीरहित प्राकृतिक पोषणको प्रयोग गर्दा शरीरको क्षमता पनि बढ्छ ।

पानी चिकित्सा : रगत सफा गर्ने र बाह्य तथा आन्तरिक विकारहरु हटाउने एउटा माध्यम हो पानी । दैनिक आवश्यकताअनुसार तातो वा चिसो पानी पिउने, हातगोडा धुने, अंगप्रत्यंग सफा गर्ने, नुहाउने, विशेष चिकित्सात्मक स्नानहरु जस्तै– खट्टाको स्नान (पूmटबाथ), मेरुदण्डस्नान (स्पाइनल बाथ), पालैपालो तातो–चिसो स्नानलगायत अनुहार, घाँटीलगायतको स्थानीय वाष्पस्नान तथा पूरा जीउको बाफ स्नान पनि लाभदायक छ ।

यी लगायत अन्य प्रकारका थेराप्युटिक बाथ पनि प्रयोग गर्न सकिन्छ । यसबाट विजातीय द्रव्य घटेर शरीरमा प्रतिरोधक क्षमता बढ्छ । यसरी नै कुल्ला र गरर्र गर्ने, पानी पिएर वमन गर्ने, एनिमा एवं कोलन हाइड्रोथेरापी र डुस प्रयोग गरी मलाशय, ठूलो आन्द्रा र प्रजननांगको सफाइ गर्ने गर्दा पनि विकार निस्कने र शरीरमा स्वच्छता बढ्ने भई शरीरको प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ । यस्ता विधिहरु रोगी–निरोगी दुवैमा प्रयोग गर्न सकिन्छ ।

हावा चिकित्सा : रक्तशुद्धि र ऊर्जाको लागि हावामा भएको प्राणवायु अक्सिजनको सर्वाधिक महत्त्व छ । शुद्ध प्राकृतिक वातावरणमा लामो, गहिरो र लयबद्ध श्वासप्रश्वासको अभ्यास गर्दा उक्त लाभ प्राप्त भई त्यसले रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कमा अक्सिजनको उचित परिपूर्तिले मन पनि शान्त हुन्छ । सकेसम्म नियमित श्वास लामो लिने, कहिलेकाहीँ तीव्र किसिमले श्वासप्रश्वास गर्ने, श्वास फुक्ने मेसिनमा हावा फुक्ने–तान्ने अभ्यास गर्ने र कहिलेकाहीँ स्वच्छ हावा बहनेबेला कम लुगा लगाएर हावामा बस्ने गर्दा फाइदा हुन्छ । तर बतास, हावाहुरी, तातो हावामा बस्ने होइन ।

ताप चिकित्सा : आवश्यकताअनुसार तातो वा चिसोको प्रयोग गरी सेक्ने गर्दा त्यसबाट पनि शारीरिक विकार निष्कासन र प्रतिरोधक क्षमता बढाउन सकिन्छ । तातोपानी, विद्युतीय ताप, चिसो–तातो हावा, बरफ, बाफ, ढुंगा, माटो, बालुवा, अग्नि आदिको माध्यमले एकल एवं मिश्रित तापको प्रयोग गरी कुनै अंग विशेषमा सेकाइ गर्न सकिन्छ ।

व्यायाम चिकित्सा : शारीरिक अभ्यासले शरीरमा रक्तसञ्चार बढाउने, हरेक अंगप्रत्यंगको क्षमता वृद्धि गर्ने, विकार निष्कासन गर्ने, नशानाडीलाई स्वस्थ बनाउने आदि लाभपाउन सकिन्छ र शरीरको इम्युनिटी पनि बढ्छ । खासगरी शारीरिक काम गर्न नपर्नेहरुले त दैनिक एक घण्टा विभिन्न थरीका व्यायाम अनिवार्यरुपमा गर्नुपर्छ । यसका लागि दैनिक खुट्टादेखि टाउकोका जोर्नी चलाउने सरल व्यायामहरु गर्नुपर्छ । साथै उफ्रिने–दौडिने, छिटो हिँड्ने, उठबस गर्ने, एरोबिक्स, साइक्लिङ, पौडी, डोरी खेल्नेजस्ता कार्डियोलगायत त्यस्तै खालका अन्य व्यायाम र खेलहरु खेल्न सकिन्छ । तर दीर्घरोग वा शरीरमा कुनै समस्या भएका र बढी उमेरका व्यक्तिले विज्ञसँग परामर्श लिएर व्यायाम गर्नुपर्छ । अशक्तहरुलाई अरुले व्यायाम गराइदिनु फाइदाजनक हुन्छ ।

मालिस चिकित्सा : कुनै अंग विशेषमा गरिने मालिस र पूरा शरीरभर गरिने तेल मालिस, घर्षण मालिस, स्पन्ज, दबाबयुक्त मालिस, सुख्खा मालिस आदिले विकारको घुलनशीलता र निष्कासन आदिमा लाभ पुग्छ । यसबाट रगतको नलीमा भएको अवरोध हट्ने, रक्तसञ्चार बढ्ने, विकार हट्ने, नशानाडी बलियो हुने, फोक्सो र श्वासनलीहरुको समेत अवरोध घट्ने जस्ता लाभहरु पाउन सकिन्छ । मालिस स्वयंले वा अरुद्वारा पनि गराउन सकिन्छ ।

चुम्बक चिकित्सा : चुम्बकीय उपचारहरुबाट रगतमा भएको लौहतत्वलाई प्रभावित गरी शरीरमा ऊर्जा वृद्धि तथा विकार निष्कासनलाई समेत सकारात्मक लाभ हुन्छ र जीवनी शक्ति बढ्छ ।

सूर्यकिरण चिकित्सा ः बिहानको घाम छालामा प्रत्यक्ष पर्ने गरी ताप्ने गर्दा शरीरमा भिटामिन डी चार्ज हुने, तातोले छालालाई सक्रिय पार्ने, पसिनाबाट विकार निस्कने, मनमा आनन्द हुने हुन्छ । सूर्यस्नान गर्नुअघि एक गिलास पानी वा फलको रस पिउने, टाउको र आँखामा चिसो पट्टी लगाउने र छोप्ने, सकेसम्म पातलो लुगा लगाउने गर्नुपर्छ । सुतेर, बसेर आरामपूर्वक सूर्यस्नान गर्नुपर्छ र सकिएपछि तुरुन्तै नुहाउने वा चिसो रुमालले जीउ पुछ्नुपर्छ ।सूर्यको किरणमा कीटाणु, जीवाणुहरुलाई नष्ट गर्ने क्षमता पनि रहेको हुन्छ ।

जडीबुटी चिकित्सा : शोधन, प्रतिजैविक, प्रतिरोधक आदि प्रयोजनका लागि जडीबुटी उपयोगी छ । घरमै पाइने मसलाहरु– पुदिना, तुलसी, बेसार, अदुवा, मरिच, मेथी, ज्वानो, जीरा, धनियाँ, पिप्ला, तेजपत्ता, दालचिनी, ल्वाङ, अलैंची, सुकुमेल, हिङजस्ता मसलाहरु लाभदायक छन् ।

यिनीहरुलाई एकलरुपमा त्यसै चपाएर, चुसेर, तरकारी–अचारमा हालेर खान सकिन्छ । यसरी नै कुनैलाई दूध, पानी, चिया वा सूप, सर्बतमा मिसाएर विभिन्न किसिमले प्रयोग गर्न सकिन्छ । मेथीलाई टुसा उमारेर पनि खान सकिन्छ । हर्रो, बर्रो, अमलालगायत अनेक जडीबुटी छन् जुन रोग–प्रतिरोधक क्षमता बढाउन सहयोगी हुन्छन् ।

संगीत चिकित्सा : मनमा आनन्द दिने खालका संगीत ९नृत्य, वादन, गायन० को प्रयोगले पनि शरीरमा सकारात्मक परिवर्तनहरु आउँछन् र रोग–प्रतिरोधक क्षमताको पनि विकास हुन्छ । यसका लागि दैनिक रुचिअनुसारको नृत्य, गीत, धुन, भजनकीर्तन आदिको प्रयोग गरी नाच्ने, गाउने, बजाउने, सुन्ने, हेर्ने, झुम्ने आदि गर्नुपर्छ ।

भोजन चिकित्सा : हामी कस्तो खान्छौं त्यस्तै शरीर र मन बन्छ । प्राकृतिक चिकित्सामा प्राकृतिक आहार र अमृताहार ९चना, मुग, मेथी, बदाम, गहुँलाई भिजाएर टुसाएको काँचै खाने० को विशेष महत्व छ । हरियो तरकारी, रसिला फलफूल, चोकर तथा रोियुक्त पूर्णाहार, अप्रशोधित खाद्यवस्तु, दूध वा महीकल्प, रसाहार आदिको प्रयोग गर्नुपर्छ ।

उपवास चिकित्सा : उपवास चिकित्साको प्रयोगले शरीरबाट विकार निस्कने र निर्विषीकरण गर्नमा निकै नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । हप्तामा एक–दुई दिन पूर्णरुपले उपवास गर्ने (केवल पानी वा कागती–पानी वा नसकेमा कागती, मह र पानी मात्र पिएर बस्ने) गर्नु अति लाभदायक छ । तर औषधि प्रयोग गरेका, मधुमेह, गर्भावस्था, कमजोरीजस्ता अवस्थामा गर्नुहुँदैन, प्राकृतिक चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ ।

निद्रा तथा विश्राम : ठीक किसिमले सुत्ने र सही निद्रा पु¥याउने एवं उचित विश्राम गर्ने गर्नाले पनि प्राकृतिक प्रतिरोधक क्षमता र जीवनीशक्तिको विकास हुन्छ । निद्रालाई मस्त बनाउने प्राकृतिक चिकित्सा र विश्रामका लागि रिल्याक्सेसन विधिहरु जस्तै– मडथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी आदि पनि प्रयोग गर्न सकिन्छ ।
कोरोना भाइरसको सन्दर्भमा
बच्नको लागिः कोरोना भाइरस (कोविड–१९) लाग्न नदिन माथि दिइएका विधिहरुको प्रयोग गर्ने, तातो पानीको प्रयोग, सरसफाइ, लकडाउनको पालना, शारीरिक दूरी कायम गर्ने आदि उपायहरुको प्रयोग गर्नुहोस् ।

रोगोपचारका क्रममा : कोरोनाको संक्रमण भइहालेमा पनि नआत्तिईकन उच्च मनोबलका साथ कोविड–१९ को उपचार गर्न तोकिएका चिकित्सकले दिएको सल्लाहको पालना गर्दै स्वस्थ जीवनशैलीका उपायहरुसहित माथि दिइएका सम्भव हुनेखालका विधिहरुको प्रयोग गर्नुहोस् । अझ प्रयोग गर्नुअघि योग तथा प्राकृतिक चिकित्सकसँगसल्लाह लिई प्राकृतिक चिकित्साका विविध नियमहरुको पालना गर्नुहोस् ।

प्राकृतिक चिकित्साले यो रोगमा कति काम गर्छ भन्ने अनुसन्धान भएको छैन । तर विगतका अरु समस्याहरुलाई हेर्दा र वर्तमानमा पनि जसको प्रतिरोधक क्षमता कमजोर छ उसलाई बढी असर पर्ने र इम्युनिटी बलियो हुनेहरुलाई खतरनाक समस्या नहुने पाइएको छ ।

यो समस्या नयाँ हो र भाइरसहरुले स्वरुप बदल्दै आउने परिप्रेक्ष्यमा रोग–प्रतिरोधक क्षमता बढाउन क्वारेन्टिनमा बस्दा होस् वा आइसोलेसनमा वा उपचारमा रहँदा मिलेसम्म माथिका प्राकृतिक चिकित्साको पनि प्रयोग गर्दा छिटो लाभ हुने सम्भावना देखिन्छ ।

लक्षण अनुरुप ज्वरो, खोकी, छातीको अवरोध, नाकका समस्यालगायत सर्वांग निर्विषीरणका उपायहरु स्वयं गर्न सक्ने अवस्थामा गर्न सकिन्छ तर समस्या बढ्दै स्वयं केही गर्न नसकेमा यो विधिको प्रभावकारिता छैन । आधुनिक तथा विशेष सघन उपचार आदि आवश्यक पर्न सक्छ, जसका लागि विशेष अवस्थामा विज्ञको राय अनिवार्य छ ।
–डा. क्षितिज बराकोटी (साधना मासिकबाट साभार)

प्रतिक्रिया दिनुहोस