पूर्वयुवराज पारस शाहको समर्थन इनफ इनफ अभियानलाई

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०७७, २१ : ४८
पूर्वयुवराज पारस शाहको समर्थन इनफ इनफ अभियानलाई

काठमाडौं । पूर्व युवराज पारस शाहले सत्याग्रहमा रहेका यूवा अभियन्ताहरूलाई भेटेका छन् । ह्याम्स अस्पतालमा सत्याग्रह जारी राखेका इशान अधिकारी ‘ई’ र पुकार बमलाई भेट्न शुक्रबार दिउँसो पारस अस्पताल पुगेका हुन् ।

‘इनफ इज इनफ’ अभियानका अधिकारी आठ दिनदेखि बिना खाना र पानी सत्याग्रहमा छन् । पाटन दरबार स्क्वायर परिसरमा उनले सत्याग्रह आरम्भ गरेका थिए । अधिकारीसँगै बमलगायत अन्य अभियन्ता सत्याग्रहमा छन् । जनताको जीवन रक्षाका निम्ति कोरोना महामारी नियन्त्रण गर्न सरकारबाट प्रभावकारी व्यवस्थापनको माग गर्दै यूवा अभियन्ताहरू सत्याग्रहमा छन् ।

देश र जनताको हितमा यूवाहरूले जारी राखेको प्रयासलाई पारसले सराहना गरेका थिए । पोखरामा रहेका पारस बिहीबार मात्रै काठमाडौं आइपुगेका हुन् । अधिकारीका बुबा आमासँग पनि पारसले केही बेर कुराकानी गरेका थिए ।

अधिकारी र बमलाई बिहीबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल पु¥याइएको थियो । भर्ना गरेलगत्तै प्रधानमन्त्री केपी ओली सत्याग्रहीहरूसँग भेट्न अस्पताल पुगेका थिए । सो क्रममा प्रधानमन्त्रीले सत्याग्रह त्याग्न आग्रह गरेका थिए । सत्याग्रहीहरूले माग पूरा नभएसम्म सत्याग्रह जारी राख्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस