प्रदेश ५ मा जताततै सलह, बास बस्दै, बाली खाँदै, उड्दै

पत्रपत्रिकाबाट

बुधबार, १७ असार २०७७, ०८ : २८
प्रदेश ५ मा जताततै सलह, बास बस्दै, बाली खाँदै, उड्दै

बुटवल । भारतबाट शनिबार रुपन्देही, कपिलवस्तुलगायत सिमावर्ती जिल्ला हुँदै छिरेका सलह कीरा प्रदेश ५ का विभिन्न जिल्लाका गाउँगाउँसम्म पुगेका छन् । ती कीरा बास बस्दै, बाली खाँदै, उड्दै गरिरहेका छन् ।

शनिबार बुटवलको आकाशमा हुलका हुल देखिएका सलह मङ्गलबार गुल्मी, अर्घाखाँची, पाल्पा, बाँके, बर्दिया, प्यूठान, दाङलगायत जिल्लाहरूमा प्रशस्त देखिएका छन् । सलहले आतङ्कित किसान र स्थानीय सलह भगाउन जाग्राम बस्दै थाल ठटाउने, चर्को आवाजमा कराउने, गीत बजाउने, आगो बालेर धुवाँ निकाल्नेलगायत उपायहरू अपनाइरहेका छन् ।

बाँके र बर्दियामा हजारौँ

नेपालगञ्ज समाचारदाताका अनुसार प्रदेश नम्बर पाँचका विभिन्न जिल्लामा भित्रिएको सलह बाँके र बर्दियामा पनि भित्रिएको छ । बाँकेको खजुरा, बर्दियाको गेरुवामा सलह भित्रिएको हो । बाँकेको खजुरामा केही मात्र छिटफुट रुपमा देखिए पनि बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ बगहीपुर र जनकनगरमा भने हजारौँको सङ्ख्यामा देखिएको वडाध्यक्ष दयाराम वैद्यले बताउनुभयो ।

बगहीपुरको खेतमा हजारौँको सङ्ख्यामा सलह देखिएपछि स्थानीय किसानले मादल र थाल बजाएर भगाएको र केहीलाई माछा मार्ने जालमा फसाएर समात्दै मारेको अध्यक्ष वैद्यले बताउनुभयो । खेतबाट भगाएपछि नजिकैको जङ्गलमा गएर रुख बिरुवामा बसेका थिए । बाँके र बर्दियामा पहिलेदेखि नै सचेतनालगायत सबै तयारी पूरा गरेको जनाउँदै कृषि ज्ञान केन्द्र नेपालगञ्जले बर्दिया र बाँकेमा सलह भित्रिएको सूचना आएको जनाएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बाँकेको खजुरा र बर्दियाको गेरुवामा सलह देखिएको सूचना आएकोले अन्य ठाउँमा पनि जानकारी लिने काम भइरहेको बताउनुभयो । उहाँले बर्दियाका किसानले स्प्रे गरेर, मादल बजाएर सलह धपाउन सफल भएकाले अन्य ठाउँका किसानलाई पनि सचेत रहन आग्रह गरिएको बताउनुभयो ।

गुल्मीका सबै तहमा

तम्घास समाचारदाताका अनुसार गुल्मीका सबै स्थानीय तहमा सलह पुगेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । सलह रुखहरूमा बसेको र खेती बालीहरूमा अहिलेसम्म केही हानी नोक्सानी नगरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

सलहलाई बोटबिरुवा र बालीहरूमा बस्न नदिनका लागि थालहरू ठटाउने र धुवाँ बाल्ने जस्ता कार्यहरू गर्न घिमिरेले आग्रह गर्नुभएको छ । उहाँले सलहको बथानै नभई केही झुण्ड तितरबितर भएर आएकाले माहामारीको रुप लिन नसक्ने बताउनुभयोे ।

पाल्पाका आकाशमा पनि

तानसेन समाचारदाताका अनुसार पाल्पा जिल्लाका विभिन्न स्थानमा सलहको झुण्ड निरन्तर घुमिरहेको छ । पाल्पाको छहरा, दोभानको झ्ङ्ला, बगनासकालीको चिर्तुङ्धारा, बराङ्दी, रिब्दीकोटको ख्याहालगायत क्षेत्रमा चार दिनदेखि सलहको समूह घुमिरहेको छ ।

पाल्पामा ठूलो सङ्ख्यामा सलहको समूह नभए पनि हालसम्म पनि सलह विभिन्न स्थानमा उडेको भन्ने सूचना प्राप्त भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । सलहको सानो–सानो झण्ड देखिएको छ, ठूलो झुण्ड कहाँ बसेको छ भनेर ट्रेसिङ् गर्ने कार्य भइरहेको ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । पाल्पामा देखिएको सलहको सानो झुण्डले बालीनालीमा ठूलो क्षति नपुर्याउने बताउँदै उहाँले धानको बीउ भने जोगाउनुपर्ने बताउनुभयो ।

प्यूठानमा पनि देखियो

प्यूठानमा पनि जिल्लामा सलह भित्रिएको छ । जिल्लाका विभिन्न स्थानमा सलह देखिन थालेपछि किसान चिन्तित बनेका छन् । पूर्वी प्यूठानको मल्लरानी गाउँपालिका–२ चुँजाबाट सलह भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जानकारी दिनुभयो ।

सोमबार बेलुका भित्रिएको सलह अहिले जिल्लाका विभिन्न ठाउँमा फैलिएका छन् ।जिल्लाको बरौला, अर्खा, रजबारा, बाँदिकोटलगायत ठाउँमा सलह देखिएपछि किसानले आगो बालेर लखेट्न थालेको रजबाराका स्थानीय लालबहादुर सेनले बताउनुभयो । गोरखपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस