प्रधानमन्त्री ओलीलाई राप्रपा अध्यक्ष लोहनीको ४ बुँदे सुझाव

सफल खबर संवाददाता

सोमबार, १५ असार २०७७, १२ : ४२
प्रधानमन्त्री ओलीलाई राप्रपा अध्यक्ष लोहनीको ४ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीले आफू बाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको बताएका छन् ।

राप्रपा अध्यक्ष लोहनीले सोमबार सामजिक संजालमा सन्देश जारी गर्दै प्रधानमन्त्रीलाई चार बुँदे सुझाव समेत दिएका छन् ।

सम्माननीय प्रधानमन्त्रीजी

१. विदेशी र स्वदेशी मिलेर नेपालको नया नक्सा जारी गरे बापत तपाईलाई हटाउन प्रयास हँुदैछ भन्ने तपाइको आरोप पढियो । 

२. तपाईको विश्लेषण गलत छ किनभने तपाईलाई हटाउन तपाई आफै कस्सिएर लाग्नु भएको छ एक पटक शान्त भएर आफुले आफुलाई हेर्नुहोस् थाहा पाउनु हुनेछ ।

३. ठिक कुरामा जनता र दलहरुले तपाईलाई सधै साथ दिएका छन् । तपाईले भद्र भलादमी प्रतिपक्ष पाउनु भएको छ जो तपाईको हत्तपत्ति विरोध गर्दैनन् । नयाँ नक्साको बारेमा तपाईको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईलाई साथ दिएका छन । विचार गर्नुहोस् कुनै विदेशीको मुख हेरेको भए यो एकता संभव हुने थिएन र संसदबाट सिमाना सम्बन्धि प्रस्ताब निर्विरोध पारित हुने थिएन ।

यो देख्दा देख्दै अरुलाई विदेशीबाट संचालित भन्नु तपाईबाहेक अरु कोही नेपालमा देशभक्त छैनन् भन्नु हो । यो भनाइले तपाई सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ । आफु बाहेक अरु सबैलाई विदेशीबाट संचालित छन् भन्ने दृष्टीकोण तपाईको कमजोर र हतास मनस्थितिको परिचायक हो ।

४. तपाईको विरोध तपाईको श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी सँस्कार, भ्रस्टाचारलाई राजनीतिको प्रमुख अंग संझने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न छुट दिने तपाईको नवसामन्ती प्रवृत्तिको कारणले हो । प्रजातन्त्र को नाममा आजको नयाँ पिढीले तपाईको भारदारी शासन स्वीकार गर्दैनन् । यदि म गल्ती हुँ भने तपाईले ओम्नी काण्ड, यती जग्गा काण्ड, वाइड बडी जहाज कमीसन काण्ड, न्यारो बडी हवाईजहाज काण्ड, सुन काण्ड, एनसेल काण्ड जस्ता अनैको विवादको न्यायिक छानविन गर्ने घोषना गर्नुहोस् ।

साथै सबै दलका नेताहरुको सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने हिम्मत गर्नुहोस् । तर यो दुइ बर्षमा सबैले देखिसके तपाई यो नवसामंतबादमा अडेको “नौलो बहुदलीय भारदारी जनबाद” अन्त गर्ने नैतिक हिम्मत तपाईमा छैन । त्यसैकारण तपाईका शुभचिन्तकहरु पनि तपाईबाट देश चल्दैन भन्ने निचोडमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस