राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख सहयोग गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १२ असार २०७७, १५ : ३०
राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख सहयोग गर्ने

जनकपुरधाम । जीवनजल समेत नपाएर आइसोलेसनमा ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख  सहयोग गर्ने आज जानकारी दिए । 

गत जेठ ३ गते भारतको अहमदावादबाट आएका सदा गाउँकै क्वारेन्टिनमा १७ दिनसम्म बसेपछि उनलाई झाडापखाला भएको थियो । पखाला भएपछि उनलाई टिप्परमा बसाएर प्रादेशिक अस्पतालको ढोकासम्म ल्याइएको थियो । त्यही उनको स्वाब सङ्कलन गरिएको र समयमै रिपोर्ट नआएका कारण झाडापाखालाको समेत राम्रो उपचार नपाइ सोमबार मृत्यु भएको थियो । 

प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमै उपचार नपाएर सदाको मृत्यु भएपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । 

समितिको संयोजकमा स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साह र सदस्यमा प्रदेश २ का अस्पताल विकास तथा चिकित्सा सेवाका डा नवल किशोर झा र मन्त्रालयका महाशाखा प्रमुख दिलीपकुमार प्रधान रहेका छन् । 

समितिले सात दिनको म्याद पाएको छ । घटनाको छानबिन गर्न गठित समितिले काम शुरु गरिसकेको र छानबिनमा दोषी देखिनेलाई कारवाही गरिने मन्त्री यादवले बताए । 

प्रतिक्रिया दिनुहोस