पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडकखण्ड आठ घण्टापछि सुचारु

रासस

मंगलबार, ०९ असार २०७७, २० : ५५
पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडकखण्ड आठ घण्टापछि सुचारु

फाईल फोटो

काठमाडौं । पहिरो गएपछि आज बिहान ६ः३० बजेदेखि अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड आठ घण्टापछि दुईतर्फी रुपमा सुचारु भएको छ । 

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा नजिक खसेको पहिरो हटाइएपछि अवरुद्ध सडक आठ घण्टापछि दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । 

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले आठ घण्टाको प्रयासपछि राजमार्ग दुईतर्फी रुपमा सुचारु भएको जानकारी दिनुभयो । पहिरो पन्छाइएपछि दिउँसो १२ः३० बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको राजमार्ग २ः३० बजेदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

मुग्लिङ र डुम्रेबाट ल्याइएको डोजरले राजमार्गको पहिरो हटाइएको थियो । “डाँडाबाट ढुङ्गा खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समय लागेको थियो, अहिले दुईतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएको छ”, प्रहरी निरीक्षक थापाले भन्नुभयो । राजमार्ग सुचारु भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् । बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस