पुत्र वियोग

यसरी मन बुझाएका छन् प्रचण्ड र प्रचण्ड परिवारले

मंगलबार, ०५ मंसिर २०७४, १७ : ०८
यसरी मन बुझाएका छन् प्रचण्ड र  प्रचण्ड  परिवारले

पुत्र वियोगपछि निकै ठूलो पीडामा डुबेका प्रचण्ड परिवार बिस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि निकै पीडामा डुवेका बुबा प्रचण्ड र आमा सिता दाहाल मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिए ।

 

प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन् आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, बुहारी बिना र प्रकाश पुत्र प्रणव पनि साथमै थिए ।

१०ः४५ को यति एयरलाईनसबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पुग्नु भएका प्रचण्ड र उनको परिवारलाई सहज बनाउने सहजीकरणको भूमिका पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गरेका थिए । प्रचण्डभन्दा करिव १० मिनेट अघि नै विमानस्थल पुगेका नेपालले प्रचण्ड परिवारलाई त्यहाँ स्वागत मात्र गरेनन्, केही सहज वातावरण पनि निर्माण गरिदिए । प्रचण्डकी कान्छी छोरी गंगाकी पुत्री र प्रकाश–बिनाका पुत्रलाई घरी प्रचण्डको काखमा राखिदिने त घरी आफैले काखमा राखेर प्रचण्डको मुहारमा मुस्कान ल्याउने प्रयासमा उनी निरन्तर लागिरहे ।

करिव आधा घण्टा प्रचण्ड र नेपालसँगै रहेका थिए । माओवादी नेताहरु रामबहादुर थापा ‘वादल’ र मात्रिका यादवले पनि वातावरणलाई सहज बनाउने प्रयास गरेका थिए । त्यसको केहीवेरपछि एउटै विमानमा चढेर प्रचण्डसँगै नेपाल पनि चितवन प्रस्थान गरेका थिए । चितवनमा हुने विशालसभामा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता नेपाललगायतले सम्वोधन गर्दै छन् । सभामा प्रचण्ड उपस्थित भएपनि सम्बोधन भने गर्ने छैनन् ।

 

प्रतिक्रिया दिनुहोस