चीन-भारत तनावको चुनौती विश्लेषण गर्दै नेपाली सेना

पत्रपत्रिकाबाट

सोमबार, ०८ असार २०७७, ०७ : ३५
चीन-भारत तनावको चुनौती विश्लेषण गर्दै नेपाली सेना

फाईल फोटो

काठमाडौं । चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ ? जंगीअड्डामा आइतबार सकिएको पृतनापति समन्वयात्मक बैठकमा उच्च सैनिक अधिकारीबीच यही प्रश्नको सेरोफेरोमा छलफल भयो ।

चीन र भारतका सैनिकबीच सीमा क्षेत्रमा भएको भिडन्त, त्यसले नेपाललगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा पार्न सक्ने असरबारे छलफल भएको हो । दुई छिमेकी मुलुकका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा बढेको तनाव, त्यसले नेपाललाई पार्न सक्ने सुरक्षा प्रभावबारे खुलेरै छलफल भएको सैनिक स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकाली वार्ताका माध्यमबाट जारी तनावको समाधान गर्न चीन र भारतलाई आग्रह गरिसकेको छ । नेपालले दुवै छिमेकीलाई सीमा समस्या शान्तिपूर्ण रूपमा सुल्झाउन सुझाव दिएको हो । जंगीअड्डामा भएको पृतनापति बैठकमा पनि चीन–भारत सीमा समस्या र त्यसले नेपाललाई पार्न सक्ने सम्भावित असरको विषयले प्रवेश पाएको हो । बाह्य गतिविधिले नेपालको आन्तरिक सुरक्षामा उत्पन्न गराउन सक्ने चुनौतीबारे बैठकमा छलफल चलेको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले चीन र भारतबीच बढेको तनावले नेपालमा के कस्तो सुरक्षा चुनौती बढ्न सक्छ ? त्यसको सूक्ष्म विश्लेषण गर्नुपर्ने धारणा राखे । त्यसबाट नेपाललाई पर्न सक्ने असर, त्यसले उत्पन्न गराउन सक्ने चुनौती विश्लेषण गरी सोहीबमोजिम रणनीति र कार्ययोजना तयार पार्न उनले सम्बन्धित विभागलाई निर्देशन दिएका छन् ।

‘प्रधानसेनापति थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभाव र असरहरूको सूक्ष्म अध्ययन विश्लेषण गर्दै विकसित परिस्थितिबारे स्पष्ट अवधारणा, रणनीति र कार्ययोजना निर्माण गर्न निर्देशन दिनुभयो’, जंगीअड्डाले बैठकपछि आइतबारै जारी गरेको विज्ञप्तिमा लेखिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस