सीमा विवादले हिंसात्मक रुप लिएपछि चीन र भारतले दिए यस्तो प्रतिक्रिया

एजेन्सी

मंगलबार, ०२ असार २०७७, १८ : ०९
सीमा विवादले हिंसात्मक रुप लिएपछि चीन र भारतले दिए यस्तो प्रतिक्रिया

एजेन्सी । भारत–चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । सोमबार राती लद्दाखको गालवन उपत्यकामा दुबै देशका सैनिकबीच मुडभेड हुँदा भारतका एक कर्नेल र दुई जवानसहित तीनजना मारिए । यता, चीनतर्फ ५ जना मारिएको र ११ जना घाइते भएको भारतीय दाबी छ । चीनले आफ्ना कति सैनिक मारिए भन्ने विषय खुलाएको छैन । तर, मुडभेडको समाचारलाई भने पुष्टि गरेको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार ४५ वर्षपछि भारत–चीनबीचको विवादमा भारतीय सैनिक मारिएका हुन् । यसअघि २० अक्टुबर १९७५ मा अरुणाञ्चल प्रदेशको तुलुङ लामा असम राइफलको गस्तीमाथि चीनले हमला गर्दा भारतका ४ जना सैनिक मारिएका थिए । दुई देशबीच त्यसयता एकअर्काका सैनिककै ज्यान लिनेगरी हिंसा भएको छैन । 

के भन्छ भारतीय पक्ष ?

भारतीय सेनाले विज्ञप्ति जारी गर्दै अवस्था नियन्त्रणमा ल्याउन छलफल चलिरहेको जनाएको छ । ‘सोमबार राती गालवन उपत्यकामा तनाव मत्थर पार्ने प्रक्रिया चलिरहेको थियो, तब हिंसा भड्कियो । हाम्रो एक अफिसर र दुई जवान सहिद भए । अहिले दुबै देशका सेनाका वरिष्ठ अधिकारीहरु तनाव कम गर्नका लागि बैठक गर्दैछन्’ विज्ञप्तिमा भनिएको छ । यस घटनापछि रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, विदेशमन्त्री एस जयशंकरलगायतसँग बैठक गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्ने कार्यक्रम छ । 

के भन्छ चिनियाँ पक्ष ?
‘सीमा विवाद समाधानका लागि भारत र चीनबीच कुटनीतिक र सैन्य च्यानलमार्फत वार्ता भइरहेका बेला ६ जुनमा दुई देशबीच कमाण्डर स्तरमा भएको छलफलकोे सहमतिलाई उल्लंघन गर्दै सोमबार दुईपटक भारतीय सेनाले सीमा नाघेर अवैध गतिविधि तथा चीनियाँ सेनाविरुद्ध आक्रमणको प्रयास गरेका छन् ।

यसले दुई पक्षबीच द्वन्द्व निम्त्याएको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिझानले मंगलबार नियमित पत्रकार भेटका क्रममा भनेका छन्, ‘चीनले यस विषयमा कडा विरोध जनाएको छ र सहमतिअनुसार आफ्ना फ्रन्टलाईनका सेनालाई पछाडि हटाउन माग गरेको छ ।  सीमा ननाघ्न र सीमाको अवस्थालाई कठिन बनाउने गरी कुनै पनि एकपक्षीय कदम नचाल्ने भनेको छ । चीन र भारतले सीमा क्षेत्रमा तनाव कम गरेर शान्ति कायम गर्नका लागि संवादमार्फत दुईपक्षीय समस्या समाधान गर्ने सहमति गरेका छन्,’ झाओले भने । 

प्रतिक्रिया दिनुहोस