लकडाउनमा बढ्यो वन्यजन्तुको तस्करी

रासस

आइतबार, ३२ जेठ २०७७, २० : ३३
लकडाउनमा बढ्यो वन्यजन्तुको तस्करी

फाईल फोटो

काठमाडौं । लकडाउनको मौका छोपेर वन्यजन्तुको चोरी तस्करी बढेको छ । जिल्लाको बडीमालिकाको मार्तडी क्षेत्र, गौमूला गाउँपालिकाको दहकोट, मानाकोट, त्रिवेणी नगरपालिकाको तोली, छतारा, कैलाशमाडाँै, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, डोगडी, हिमालीको रुगिनलगायतका दर्जनौँ गाउँमा वन्यजन्तुको चोरी तस्करी बढेको छ ।

जिल्लाका धेरैजसो जङ्गल क्षेत्रतिरका गाउँका स्थानीय सिकार खेल्न बन्दुक, भाला, खुकुरी लिएर जङ्गल जाने गरको स्थानीय स्तरबाटै गुनासो आउन थालको छ । यही जेठ २७ गतेमात्र त्रिवेणी नगरपालिकाको मौरेमा एक मृगलाई गाउँलेले घेरा हालेर मारेका थिए । मृगलाई कसले मारेको हो, को को संलग्न थिए, उनीहरुको खोजी कार्य भइरहेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो । 

 अहिले जिल्लाका विभिन्न ठाउँका जङ्गलमा खुलेआम चोरी–सिकारी भइरहेको हिमाली गाउँपालिका–३ बौडीका स्थानीयवासी धनमल विकले बताउनुभयो । उहाँले जङ्गलमा गएर दुर्लभ तथा नेपालको राष्ट्रिय जनावर डाँफे, कालिज, बँदेल, कस्तुरीमृग, घोरललगायतको सिकार हुने गरेको जानकारी दिनुभयो । 

 सिकार खेल्न स्थानीयवासीको समूह एक–दुई हप्तासम्म जङ्गलमा नै बस्ने गर्छन् । जङ्गलमा गएर भरुवा बन्दुकको प्रयोग तथा अन्य पासोको समेत प्रयोग गरेर जनावर मार्ने गरेको बताइएको छ । कसैले त कुकुरहरु प्रयोग गरेर मृगको सिकार गर्ने गरेका छन् ।

जिल्लाका घनाजङ्गल भएका ठाउँ बडिमालिका, बूढीनन्दा र खप्तड राष्ट्रिय निकुञ्ज नजीक बढी चोरी सिकारी हुने गरेको पाइएको छ । वन्यजन्तुको सिकार गरी जिल्लाका विभिन्न स्थानीय हाटबजार र गाउँमा समेत बिक्री गर्ने गरेको पाइएको डिभिजन वन कार्यालयले अनुसन्धान गरिरहेको बताएको छ । सदरमुकाम मार्तडीमा समेत डाँफे र मुनालको प्रतिकेजी एक हजार पाँच सयदेखि दुई हजार तथा कालिज एक हजारभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ । 

त्यस्तै बँदेल, घोरलको प्रतिकेजी पाँच सयमा कस्तुरी मृगको मासु प्रतिकेजी एक हजारमा बिक्री हुने गरेको मार्तडीमा मृगको मासु बेच्दै एकजना सिकारीले बताएका छन् । चिसोयाममा जङ्गली वन्यजन्तुको मासुको मूल्य बढी पाउने गरेको बताइन्छ । 

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले भने चोरी सिकारी बढ्ने सम्भावना भएकाले सबै ठाउँमा रहेका प्रहरीलाई जानकारी गरिसकेको र जङ्गलतिर पनि ‘सर्च अभियान’ गरिरहेको बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित पक्षी तथा वन्यजन्तुको सिकार गर्नेलाई पाँचदेखि १५ वर्षसम्म कैद र नगद रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस