हिमाल चढ्दै गाईहरु !

पत्रपत्रिकाबाट

आइतबार, ३२ जेठ २०७७, ०८ : ०५
हिमाल चढ्दै गाईहरु !

पेरिस । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण पर्यटकका लागि स्विट्जरल्यान्ड बन्द गरिएको छ । तर गाईहरूलाई भने यो नियमले छोएको छैन । ग्रीष्म ऋतु लागेसँगै स्विट्जरल्यान्डका गाईहरू हिमाल चढ्दै छन् ।

ग्रीष्म ऋतुमा आफ्ना हिमाली चरनहरूतिरको यात्रा गर्नु स्विट्जरल्यान्डका गाईहरूको परम्परागत चलन हो । पहाडी चरनहरूमा गाईलाई पुर्‍याउन यस वर्ष पनि उत्तर–पूर्वी स्विट्जरल्यान्डको अप्पेन्जलमा गाईहरूको लस्कर लगाइएको छ । हिमाली क्षेत्रको प्रसिद्ध आरोहणमा विगतका वर्षहरूमा पर्यटक र गाईहरूको लाम लाग्ने गथ्र्यो । तर भाइरसको संक्रमणका कारण पर्यटक लक्षित प्रचारप्रसार नगरिएकाले यसपालि भने गाईको लाम लागेको छ ।

हिमाली हावा, खनिज र पौष्टिक तत्त्वले भरिएका घाँस खाएका, चिसो पानी पिएका गाईहरूको दूध बढी पौष्टिक हुन्छ । त्यसका साथै चर्को घाममा हिमाली क्षेत्रको शीतल हावा र चिसो पानीले गाई पनि स्वस्थ र पुष्ट हुन्छन् । हिमालमा चरेका गाईको दूधबाट बनेका परिकार बढी पौष्टिक हुनाले नै स्विट्जरल्यान्डमा वर्षौं वर्षदेखि गाईहरूलाई हिमाली क्षेत्रका चरनमा लैजाने गरिएको हो ।

मे महिनाको सुरुदेखि जुन महिनाको मध्यसम्म स्विस कृषकहरू आफ्ना फार्मबाट हजारौं गाईलाई हिमाली क्षेत्रका उकाल्छन् । यी गाई २ सय मिटरबाट बिस्तारै उकालो चढ्दै २ हजार मिटरसम्म पुग्छन् । शरद ऋतुको सुरुमा भने ती गाई फेरि ओरालो लाग्छन् । मानिसलाई जस्तै गाईहरूलाई पनि हिमाल चढ्नभन्दा ओर्लिन कठिन हुन्छ । त्यसैले हिमाल चढाउने बेलामा भन्दा ओराल्दा स्विसहरूले उत्सवका रूपमा मनाउँछन् । कान, सिङ र टाउकामा फुलैफूलका माला र गुच्छाहरू पहिराइदिने गर्छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस