प्रचण्डको अभिव्यक्तिलाई प्रतिवाद गर्दै लोहनीले भने : एकपटक आफ्नो अनुहार ऐनामा हेर्नुस्

सफल खबर संवाददाता

शनिबार, ३१ जेठ २०७७, १८ : ४२
प्रचण्डको अभिव्यक्तिलाई प्रतिवाद गर्दै लोहनीले भने : एकपटक आफ्नो अनुहार ऐनामा हेर्नुस्

फाइल फोटो

काठमाडौं । राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्तिको प्रतिवाद गरेका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई डा लोहनीले एकपटक आफ्नो अनुहार ऐनामा हेरेरमात्र अरुलाई गाली गर्न चुनौति दिएका छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफावार छलफलमा भाग लिँदै प्रचण्डले विभिन्न कालखण्डमा नेपालको राजतन्त्रले गुमाएको देशको भूमि गणतन्त्रले फिर्ता लिने अभियान सुरु भएको बताएका थिए । 

त्यसको प्रतिवाद गर्दै डा लोहनीले आफूलाई क्रान्तिकारी देखाउन र कमीकमजोरी तथा सिद्धान्त बिनाको राजनीति लुकाउन प्रचण्डले तर्कहीन आरोप लगाएको बताएका छन् । 
वास्तविकलाई बिर्सेर प्रचण्डले राजसंस्थालाई गाली गर्नु भनेको आफू सिद्धान्त भ्रस्ट भएको वास्तविकतालाई लुकाउने प्रयास बाहेक अरु केही नभएको समेत लोहनीको तर्क छ । 

डा लोहनीले नेपालको एकीकरण र  एकताको जग बसाल्ने संस्था राजसंस्था नै भएको जिकिर गर्दै राजसंस्थाकै सफल प्रयासले प्रचण्डले नेपाली पहिचान पाएको बताएका छन् । 

यसैगरी नेपालको क्याबिनेटमा २००७ साल पछि विदेशी राजदूत बस्ने परम्परा हटाएर चीनसँग बाटो खोल्ने साहस पनि राजसंस्थाले नै गरेको लोहनीले बताएका छन् । 

००७ सालपछि प्रजातन्त्रको आडमा नेपालको उत्तरी सीमानामा खडा गरिएका सबै विदेशी चेक पोस्ट हटाउने साहस राजसंस्थाले गरेको पनि लोहनीले बताएका छन् ।  

यस्तै उनले पररास्ट्र नीतिमा लम्पसारवादको नीतिलाई निरन्तर अस्वीकार गरेर तथा नेपाली जनतालाई विश्वास गरेर संवैधानिक भएर बस्ने अठोट पनि राजसंस्थाले नै गरेको तर्क गरेका छन् । 

उनले जनभावना  बुझेर तत्कालीन राजा ज्ञानेन्द्र खुसी साथ दरबारबाट बाहिरिएको उल्लेख गर्दै आज पनि पूर्वराजाले नेपालको राष्ट्रियता र हकहितबारे अवाज उठाइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस