किन उत्रिए सडकमा युवा

पत्रपत्रिकाबाट

शनिबार, ३१ जेठ २०७७, ०६ : ५४
किन उत्रिए सडकमा युवा

काठमाडौँ । फेसबुकमा गत शनिबार एउटा प्राइभेट ग्रुप बन्यो– ‘कोभिड–१९ नेपाल : इनफ इज इनफ’ । कोभिड–१९ विरुद्ध चालिएका कदमहरुबाट असन्तुष्ट युवाको यो समूहले सरकारलाई ध्यानाकर्षण गर्न प्रधानमन्त्री निवास, बालुवाटार अगाडि भौतिक दूरी कायम गर्दै प्रदर्शन गर्ने योजना बनायो ।

त्यही समूहको सक्रियतामा केही दिनयता राजधानीलगायत मुलुकका विभिन्न सहरमा सडक प्रदर्शन भइरहेको छ । फेसबुकको यो समूहमा शुक्रबार साँझसम्म १ लाख ५९ हजार सदस्य बनिसकेका छन् ।

युवा समूहले बिहीबार प्रधानमन्त्री निवासनजिकै प्रदर्शन गरेको थियो । त्यस क्रममा प्रहरीले उनीहरुमाथि अश्रुग्यास र पानीको फोहोरा हान्यो, जसको प्रतिक्रियास्वरूप शुक्रबार काठमाडौंका दर्जनभन्दा बढी स्थानका साथै जिल्लाजिल्लामा युवाले प्रदर्शन गरे । उनीहरुले शनिबार राजधानीको माइतीघरमा ठूलो प्रदर्शन गर्ने भन्दै अभियान चलाइरहेका छन् । ‘सरकार गैरजिम्मेवार भयो, अहिले भएको विकृति सुध्रियोस् भन्ने हाम्रो चाहना हो । हामीले यो अभियानबाट सरकारको ध्यानाकर्षण गराउन खोजेका हौं,’ अभियानमा संलग्न रिना रेग्मीले भनिन्, ‘तर हामी कुनै राजनीतिक पार्टीमा छैनौं ।’

यो समूह सडकमा निस्केपछि समर्थनमा सामाजिक सञ्जालहरुमा थुप्रै उपसमूहसमेत बनेका छन् । प्रदर्शनमा यसअघिका राजनीतिक आन्दोलनमा प्राय: नदेखिने सहरिया युवा अनुहार धेरै छन् । अनौपचारिक बोलीचालीमा प्रयोग गर्ने नौला नारा लेखिएका प्लेकार्डसहित उनीहरु विरोधमा उत्रिरहेका छन् । सामाजिक सञ्जालबाट उठेको यो आन्दोलनलाई जनता समाजवादी पार्टी, साझा पार्टी र विवेकशील नेपाली दलले शुक्रबार विज्ञप्ति निकाल्दै समर्थन गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस