थप एकजना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १६ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०७७, १७ : ३९
थप एकजना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । 

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् ।

भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा उनी बसेका थिए ।

ती पुरुषमा स्वासप्रश्वासको समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइ घर फर्किने क्रममा उनको बुधबार बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । उनको मृत्यु भएसँगै स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला  भैरहवामा गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको गौतमले जानकारी दिए । 

यसअघि नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।